नेपाल–अङ्ग्रेज युद्धको विजयोत्सव: पाल्पामा आज २०७औँ ऐतिहासिक भगवती जात्रा
तानसेन । नेपालले अङ्ग्रेज फौजलाई युद्धमा पराजित गरेको खुसीयालीमा मनाइने ऐतिहासिक ‘रणउजेश्वरी भगवती जात्रा’ आज पाल्पाको तानसेनमा निकालिँदैछ। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यो जात्रा वीरताको प्रतीकका रूपमा परिचित छ।
रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अनुसार आज २०७औँ भगवती जात्रा मनाउन लागिएको हो। अपराह्न १२:३० बजेको शुभसाइतमा तानसेन नगरपालिका–३ स्थित भगवती मन्दिरबाट रथयात्रा सुरु गरिनेछ। ब्राह्मणहरूबाट स्वस्ति वाचन र नेपाली सेनाको सलामीपछि रथलाई नगर परिक्रमा गराइने कार्यक्रम छ।
बाढीको शोकका कारण जात्रा ‘मौन र औपचारिक’
विगतका वर्षहरूमा ठूलो भीडभाड र उल्लासका साथ मनाइने भए तापनि यस वर्षको जात्रालाई औपचारिकतामा मात्र सीमित गरिएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले यसपटक तडकभडक र बाजागाजा कम गरिएको गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो।
“देश भोटेकोशी बाढीको पीडामा छ, त्यसैले हामीले यस वर्ष पञ्चेबाजा र धिमेबाजा जस्ता तामझाम नगर्ने निर्णय गरेका छौँ,” अध्यक्ष महर्जनले भन्नुभयो, “विजयोत्सवलाई संयमित रूपमा औपचारिकतामा मात्र सीमित गरिनेछ।” जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ।
ऐतिहासिक पृष्ठभूमि र कर्णेल उजिरसिंहको भाकल
यो जात्राको इतिहास नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–१८७२) सँग जोडिएको छ। पाल्पाली प्रशासकका रूपमा रहेका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले बुटवलको जितगढी क्षेत्रमा अङ्ग्रेजलाई पराजित गरेको थियो।
स्थानीयका अनुसार युद्धमा जानुअघि कर्णेल थापाले भगवती देवीको पाउ छोएर “युद्ध जितेमा मन्दिर बनाई सिन्दूर जात्रा गर्नेछु” भनी भाकल गरेका थिए। दुई पटकसम्म भएको युद्धमा विजय हासिल गरेपछि थापाले वि.सं. १८७७ मा तानसेनमा तीनतले मन्दिर निर्माण गरी विजयोत्सवका रूपमा यो जात्रा सुरु गरेका थिए।
मन्दिरबाट निकालिएको रथलाई शितलपाटीस्थित मूलढोका बाहिर पुर्याएपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले पूजा र बलि दिने परम्परा छ। यो जात्रालाई पाल्पामा सिन्दूर जात्रा वा विजय जात्राका नामले समेत चिनिन्छ, जसले नेपाली सैनिकको वीरता र ऐतिहासिक विजयको गाथालाई जीवन्त राख्दै आएको छ।