साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य, सन्दीप र दीपेन्द्रको घातक बलिङ
काठमाडौँ, २१ भदौ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको मध्यम लक्ष्य पाएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।
साउदी अरेबियाका लागि प्रारम्भिक ब्याटर अब्दुल वाहिदले उत्कृष्ट प्रदर्शन गरे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्काको मद्दतले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । अन्य ब्याटरहरूमध्ये मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे पनि टोलीका अन्य सदस्यले नेपाली बलरहरू सामु खुलेर खेल्न सकेनन् ।
साउदीलाई सस्तैमा समेट्न नेपाली बलरहरू हाबी भए । कप्तान सन्दीप लामिछानेले १० ओभरको आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र १९ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिए । त्यस्तै, अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट हात पारे ।
स्पिनर ललितनारायण राजवंशीले २ विकेट झारे भने तीव्र गतिका बलर गुलशनकुमार झा र स्पिनर शेर मल्लले १–१ विकेट लिए ।
१९१ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङको तयारीमा छ । यो खेल जितेमा नेपालको सेमिफाइनल यात्रा लगभग सुनिश्चित हुनेछ । यसअघि भएका खेलहरूमा नेपालले बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरिसकेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले आगामी मङ्गलबार हङकङको सामना गर्ने कार्यतालिका छ ।
