त्रिशूली बजारका पीडित प्रकाश जोशीको मार्मिक अपिल: ‘घर सारौं, तर स्मृति नमेटौं’
काठमाडौँ, ३ असाेज । भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित विदुर–१ त्रिशूली बजारका पीडित प्रकाश जोशीले प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी बिदुर र विदुर नगरपालिकालाई पत्र लेखी विपद्पीडित परिवारको निजी घडेरी, स्मृति तथा भावनात्मक सम्पदाको संरक्षण गरी पुनर्स्थापना नीति बनाउन आग्रह गरेका छन्।
पत्रमा जोशीले विनाशकारी बाढीले आफ्ना परिवारजन, घर, सम्पत्ति, व्यापार–व्यवसाय र जीवनभरका सम्झनाहरू एकैपटक बगाएर लगेको उल्लेख गर्दै त्यो ठाउँ केवल जग्गा वा घर नभई आफ्ना छोरा जन्मिएको, हुर्किएको र आमाबुबाको आशीर्वाद पाएको स्थान भएको बताएका छन्। जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाउन नहुने कुरा आफूले बुझेको बताउँदै उनले सुरक्षित पुनर्स्थापनाको नाममा पीडितलाई आफ्नो इतिहाससँग जोडिएको ठाउँबाट पूर्ण सम्बन्धविच्छेद गराउनु मानवीय दृष्टिले पीडादायी हुने तर्क गरेका छन्।
प्रमुख माग
जोशीले पत्रमा छवटा माग राखेका छन्। पहिलो, उच्च जोखिमयुक्त क्षेत्रमा स्थायी आवास सम्भव नभए वैज्ञानिक अध्ययनका आधारमा इच्छुक पीडित परिवारलाई सुरक्षित स्थानमा सम्मानजनक पुनर्स्थापना गर्ने। दोस्रो, निजी जग्गा सरकारले लिनुपर्ने भए स्पष्ट प्रक्रिया, उचित क्षतिपूर्ति र पीडितको इच्छालाई प्राथमिकता दिने। तेस्रो, आवासीय भवन निर्माणमा रोक लगाइए पनि सार्वजनिक सुरक्षामा असर नपर्ने गरी स्मृति पार्क, स्मृति स्तम्भ, सालिक वा वृक्षारोपण गर्न स्वीकृति दिने। चौथो, पीडितको भावनात्मक तथा सामाजिक सम्बन्धलाई पुनर्स्थापना नीतिमा समेट्ने। पाँचौँ, योजना लागू गर्नुअघि प्रभावित परिवारसँग प्रत्यक्ष परामर्श गर्ने। र छैटौँ, “घर सार्ने तर स्मृति नमेट्ने” नीति अवलम्बन गर्ने।
जोशीले आफू पूर्णरूपमा शून्य अवस्थामा पुगे पनि हालसम्म कुनै राहत सुविधा नलिएको उल्लेख गर्दै विगतमा महाभूकम्प र कोभिड–१९ को समयमा पनि आफूले समाजका लागि योगदान गरेको सम्झाएका छन्। सुरक्षित स्थानमा राज्यको सहयोग नलिईकन नयाँ जीवन सुरु गर्न तयार रहेको बताउँदै उनले आफ्नो परिवारसँग जोडिएको स्मृतिस्थल भने संरक्षण गर्न चाहेको स्पष्ट पारेका छन्।
“घर गुम्यो, तर आफ्नो मान्छेहरूको सम्झना गुम्न नदिइयोस्,” भन्दै जोशीले सरकारसँग यो आफ्नो परिवारप्रतिको सम्मान र मानवीय संवेदनाको संरक्षणको माग मात्र भएको उल्लेख गरेका छन्।
