प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा दुई पक्राउ
नाम तथा पदको दुरुपयोग
काठमाडौँ, असोज २ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनाबाट रु. दुई करोड ५० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका शिवाकोटी रहेका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने भन्दै उनीहरूले सन् २०२४ मा भएको परीक्षामा सहभागी तर छनोटमा पर्न नसकेका व्यक्तिहरूबाट रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरूले इजरायल पठाइदिने भन्दै प्रतिव्यक्ति रु. छ लाख २० हजारका दरले रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी उनीहरूले १५६ जनाबाट करिब रु. दुई करोड ५० लाख ठगी गरेको आरोप छ ।
पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
