नेपालगञ्जमा प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु

प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप

काठमाडौँ, असोज २ । नेपालगञ्जमा आजदेखि ‘प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप’ सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राष्ट्रियस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनुले स्थानीय खेलकुद गतिविधिमा नयाँ ऊर्जा थपिएको बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

“राष्ट्रियस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनु सकारात्मक कुरा हो । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो ।

नगर प्रमुख विष्टले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा बाँके जिल्ला भारोत्तोलन सङ्घका अध्यक्ष डा. प्रतीक श्रेष्ठले प्रतियोगिताले खेलाडीको उत्साह बढाउनुका साथै नेपालगञ्जमा खेलकुदको सम्भावनालाई उजागर गरेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १४२ खेलाडी सहभागी छन् ।

नेपालगञ्जलाई खेलकुदको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विभिन्न जिल्लाबाट खेलाडी नेपालगञ्ज आएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनु स्थानीय खेलकुद विकासका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । खेलकुदले युवालाई अनुशासित बनाउन तथा उनीहरूलाई सकारात्मक गतिविधितर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल, नेपालगञ्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर, प्रहरी निरीक्षक शेखर खड्कालगायतको उपस्थिति थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको विशेष सहयोग तथा राष्ट्रिय भारोत्तोलन महासङ्घको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *