संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्ति एकताबद्ध हुनुपर्ने बताएका हुन्।

लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरे।

संविधान निर्माणका कठिन घडी सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी पनि उनले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *