बेलायतको संसद् परिसरमा आतंकवादी आक्रमण, पाँच जनाको मृत्यु, ४० जना घाइते

 

लण्डन । लण्डनमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै विश्व नेताहरुले ब्रिटेनसँग ऐक्यबद्धता जनाएका छन्।
मध्य लण्डनस्थित ब्रिटिश संसद भवननिर भएको आतंकवादी हमलामा एक प्रहरी र एक हमलाकारी सहित कुल पाँच जनाको ज्यान गएको छ। उक्त घटनामा ४० जना घाइते भएका छन्।

एकजना हमलाकारीले आफू चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए।
त्यसपछि ती हमलाकारीले संसद बाहिर एक प्रहरीलाई छुरा प्रहार गरे र लगत्तै ती हमलाकारीलाई गोली हानिएको थियो।
गत वर्ष गाडी जोताएर गरिएका घातक हमला बेहोरेका फ्रान्स तथा जर्मनीका नेताहरुले ब्रिटेनप्रति समर्थन जनाएका छन्।
फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले ब्रिटिश जनताले जे बेहोरेका छन् त्यो फ्रान्सले महसुस गर्न सक्ने बताए।
उनले भने, ूहामी फ्रान्सको तर्फबाट ब्रिटेनलाई सम्पूर्ण साथ र समर्थन प्रकट गर्दछौं।ू
गत वर्षको जुलाईमा एक पुरुषले लरी जोत्दा फ्रान्सको शहर नीसमा ८४ जनाको ज्यान गएको थियो।
लरीबाटै गरिएको हमलामा डिसेम्बरमा जर्मन शहर बर्लिनमा १२ जना मारिएका थिए।
जर्मन चान्सलर एंगेला मर्कलले ब्रिटिश जनताप्रति समवेदना प्रकट गरेकी छन्।
त्यस्तै अमेरिकी राष्ट्रपतिले समवेदना प्रकट गर्दै ब्रिटिश सुरक्षा फौजको प्रशंसा गरेका छन्।
एकजना प्रत्यक्षदर्शीले घटनाबारे सुनाउँदै भने, ूम ट्राफिक लाइट हरियो हुने पर्खाइमा थिएं। त्यतिनै खेर एउटा कार वेगले गुड्दै गयो। एउटा सानो पसलमा पहिले त्यसले हिर्कायो। मैले त्यति धेरै ध्यान दिएको थिइन तर त्यसपछि लगालग त्यसले हान्दै गएपछि मलाई गडबडी भएको लाग्यो। सडक छेउमा थुप्रै मानिस भएतिर त्यो गाडी सोझिएको थियो।ू
प्रहरीले उक्त हमला इस्लामवादीसँग सम्बन्धित हुन सक्ने जनाएको छ।
मेट्रोपोलिटन प्रहरीका वरिष्ठ प्रतिआतंकवाद अधिकारी मार्क रावले ले आफूहरुलाई हमलाकारीको परिचय थाहा भइसकेको विश्वास व्यक्त गरे तर थप विवरण दिएनन्।
ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले घटनाको निन्दा गरेकी छन्।
डाउनीङ्ग स्ट्रीटमा मन्त्रीहरुसँगको आपतकालीन बैठकपछि बोल्दै उनले घाइते तथा सुरक्षाकर्मीहरुप्रति सम्मान प्रकट गरिन्।
चैत १० गते ।