कर्णाली प्रदेश सरकारद्वारा ३५ अर्ब ३९ करोडको बजेट सार्वजनिक, पुँजीगततर्फ २० अर्बभन्दा बढी विनियोजन
सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका हुन् ।
यो बजेट चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा ७.२८ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसपटक चालु खर्चभन्दा विकास खर्च (पुँजीगत) लाई प्राथमिकतामा राखेको छ । मन्त्री शाहले प्रस्तुत गरेको बजेटमा विकास निर्माणका लागि ठूलो हिस्सा छुट्याइएको छ :
पुँजीगत (विकास खर्च) : २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ (कुल बजेटको करिब ५८.६ प्रतिशत)
चालु (प्रशासनिक खर्च) : ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ
स्थानीय तहमा वित्तीय हस्तान्तरण : ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार रुपैयाँ
वित्तीय व्यवस्थापन : ५० करोड रुपैयाँ
आगामी आर्थिक वर्षको खर्च व्यहोर्न सरकारले संघीय सरकारको अनुदान र आन्तरिक राजस्वलाई मुख्य आधार बनाएको छ :
आन्तरिक आय : ८५ करोड ५ लाख ९० हजार रुपैयाँ
चालु आवको बचत (क्यारी ओभर) : ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ
संघीय सरकारबाट राजस्व बाँडफाँड : १० अर्ब ६६ करोड ५० लाख ४९ हजार रुपैयाँ
वित्तीय समानीकरण अनुदान : १० अर्ब ६३ करोड २३ लाख रुपैयाँ
सशर्त अनुदान : ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ
समपुरक र विशेष अनुदान : १ अर्ब १५ करोड ३४ लाख रुपैयाँ (संयुक्त)
यस्तै, वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रमहरूको कार्यान्वयनमा अपुग हुने रकमका लागि थप स्रोत परिचालन गरिने मन्त्री शाहले जानकारी दिएका छन् । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
सरकारले सडक, शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी गरेको छ । बजेटमाथि अब केही दिनमा प्रदेशसभामा छलफल सुरु हुनेछ ।