नेकपा एमालेलाई असफल बनाउन खोज्दा आफै असफल भए प्रचण्ड र देउवा – डा. अजय क्रान्ति शाक्य
प्रधानमन्त्री प्रचण्डका अब दिनगन्ती सुरु भएको छ । केही समयपछि असफल प्रधानमन्त्रीको नाम दर्ज गराएर सत्ताबाट बाहिरिँदै छन् । उनी राजनीतिक र कूटनीतिक दुवै मोर्चामा असफल भएका छन् । एमालेलाई असफल बनाउन खोज्दा उनी आफै असफल भए नेपालको राजनीतिमा । उनीमात्र होइन उनका सारथी देउवा पनि असफल भए । प्रचण्डका कारण चीनसितको सम्बन्ध चिसियो भने मधेशी मोर्चा पनि अन्ततः टाढियो, सहमतिमा आएन । उनले संविधान संशोधन गरी मधेसको समस्या पनि समाधान गर्छु भन्ने फूर्ति देखाउँदै एमालेलाई मधेसविरोधी देखाउन खोजे तर उनको भूठको खेती सफल भएन । तराई टुक्र्याउन ल्याइएको पहिलो संशोधान विधेयक पास नहुने प्रष्ट भएपछि लाजै पचाएर सो विधेयक फिर्ता लिए र अर्को विधेयक दर्ता गराए । नयाँ विधेयकले झन् ठूलो विवाद ल्याउँदै छ । तर पनि उनलाई कुनै अफसोच र चिन्ता छैन । मुलुक र मुलुकबासीले दुःख पाउँदा रमाउने यस्ता प्रधानमन्त्री पाउनु मुलुककै विडम्वना हो । उनका सारथी देउवा प्रवृत्ति पनि उस्तैउस्तै छ । दुवै यो मुलुकका लागि अभिशाप नै हुन् ।
काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको निहीत स्वार्थ एउटै छ । दुवैको मनपरीतन्त्रका कारण नेपालको भविष्य झन् अन्धकार हुँदै छ । अस्थिरता र आतंक सिर्जना गरेर जसरी पनि कमाउ धन्धामा लागेका उनीहरुलाई देश र जनताको बारेमा पटक्कै चिन्ता देखिएन । जालझेलको राजनीति गर्ने र आफ्नो स्वार्थमात्र हेर्ने उनीहरुका कारण मुलुकमा सर्वत्र अन्योल,अस्तव्यस्त र भताभुंग अवस्था बनेको छ । प्रचण्ड र देउवाको ठाडो राजनीतिक हस्तक्षेप र दबाबका कारण सवै क्षेत्रका नियुक्तिहरु चरम विवादमा परेका छन् । अहिले त प्रचण्डभन्दा पनि देउवा शक्तिशाली हुन् कि जस्तै देखिएको छ । उनी सरकारभन्दा पनि शक्तिशाली छन् । उनको आदेशलाई सबैले मान्नुपर्ने वाध्यता छ । यही वाध्यताका कारण उनको दबाबमा गरिएका थुप्रै विवादास्पद नियुक्तिहरुले मुलुककै छवि धराशायी हुन थालेको छ । अहिले सर्वत्र देउवा आतंक छ । प्रचण्डचाहिँ उनको आतंकमा रमाइरहेका छन्,मुस्कुराइरहेका छन् ।
प्रचण्डसँग अपवित्र गठबन्धन गरेका देउवासँग सत्ताको लगाम हातमा छ । उनले सारा नियम कानुनको बेवास्ता गर्दै मनपरी ढंगले विभिन्न ठाउँमा विवादस्पद छवि भएका भ्रष्टचारी आरोपीलाई धमाधम नियुक्ति गर्न वाध्य पारे । उनका अगाडि अहिले गृहमन्त्री विमलेन्द्र निधिलगायतका मन्त्रीहरु पनि निरीह छन् । उनको आदेशलाई मान्न मन्त्रीहरु वाध्य छन् । उनको आदेश नमाने कारबाही गर्ने, हटाउने धम्की दिन्छन् । बरियता विवादमा राजीनामा दिन तयार भएका निधिलाई देउवाको ठाडो आदेशले रोके । निधिले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका छन् । तर पनि देउवासामु निरीह छन् । देउवातन्त्र र प्रचण्डतन्त्रले मुलुक अर्को दुर्घटनातिर जाने त होइन ? चिन्ता सवत्र्र देखिएको छ ।
देउवाले जहाँ जहाँ आफ्ना मान्छलाई नियुक्ति गर्न वाध्य पारेका छन् ती मान्छेहरु चरम विवाद र भ्रष्टाचारमा मुछिएका छन् । उनको छवि पार्टीभित्र पनि राम्रो छैन । पार्टीमा पनि आफ्ना मान्छे र क्षेत्रीयतालाईमात्र काखी च्याप्ने र विरोधीलाई पाखा लगाउने नीति लिएका देउवाले अहिले सरकारलाई पनि आफ्नो ईशारमा नचाइरहेका छन् । प्रचण्ड पनि उनकै इशारामा नाचिरहेका छन् ।
अहिले स्थानीय चुनाव गराए जनमत एमालेको पक्षमा जाने देखिएपछि भित्रभित्रै देउवा र प्रचण्डले चुनाव चाहेका छैनन् । मधेसी मोर्चालाई देखाएर चुनाव पर सार्दै छन् । मधेसी मोर्चाले चुनाव वहिष्कार गर्ने पछिल्लो निर्णय गरेको छ । यो अर्को मुलुक डुबाउने राजनीतिक भ्रष्टाचार हो । देउवा र प्रचण्ड किन यस्तो षडयन्त्रमा संलग्न छन् ? रहस्यको विषय बन्दै छ ।
नौ नौ महिना पालोपालो गरी प्रधानमन्त्री खाने भनी प्रचण्डसँग भागबण्डा गरेका देउवाले प्रचण्डको पालो सकिने दिनगन्ती सुरु भएपछि सरकार ढाल्न चेतावनी दिँदै ठाउँ ठाउँमा आफ्ना मान्छेहरुलाई धमाधम नियुक्ति गर्न बाध्य पारे । सत्ताका लोभी प्रचण्डले कुर्ची जोगाउन देउवाका प्रत्येक विवादस्पद कुरामा सहमति जनाउँदै उनलाई मनपरी गर्न छुट दिएका छन् जसले गर्दा हरेक नियुक्तिहरु चरम विवादमा पर्दै छन् ।
देउवाले न्यायाधीशको नियुक्तिमा समेत दवाव दिदा न्यायालयसमेत विवादमा मुछियो । न्यायाधीश नियुक्तिमा राजनीतिकरण भयो भन्दै सरकारी वकिलहरुले चर्को विरोध गरे । निर्वाचन आयुक्तको नियुक्ति पनि निष्पक्ष भएन, देउवाको दवाब पर्यो भन्ने गुनासो छ ।
नियम काुनन, वरिष्ठतालाई धोती लगाईदिएर सरकारबाट हट्ने सम्मको धम्की दिई प्रचण्ड र निधिलाई वाध्य पारी तेस्रो वरियाताका विवादमा मुछिएका एआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउन बाध्य परे । सो प्रकरण सर्वोच्चमा पुग्यो र सर्वोच्चले चन्दको नियुक्ति खारेज गरिदियो । बरिष्ठतम र योग्यतम नवराज सिलवाललाई आईजीपी बनाउन सर्वोच्चले आदेश दियो तर यो आदेशलाई प्रचण्ड र देउवा दुवैले मानेनन् । अहिले रातारात प्रकाश अर्याललाई आईजीपी बनाइएको छ । सिलवाल फेरि सर्वोच्च पुगेका छन् । यो प्रकरणले मुलुकको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरी चरम राजनीतिको शिकार बनेको छ । यो प्रकरणले नेपाल प्रहरीको स्वाभिमान निहुरिएको छ ।
अर्कोतर्फ प्रचण्डले पनि दिनहुँ नौटंकी नाटक देखाइरहेका छन् । दिनमा दसौँ पटक कुरा फेर्ने,जे मन लाग्यो त्यही गर्ने उनको बानीले सर्वत्र शंका बढेको छ । मुलुकको कुनै पनि क्षेत्रमा सकारात्मक सोच र काम भएको छैन । लाज कत्ति पनि नमान्ने,नैतिकताविहीन उनले एक महिनासम्म मन्त्रिपरिषद्को बैठकसम्म गर्न सकेनन् । कार्यभारसमेत नदिई चीनको लज्जास्पद भ्रमण गरी नेपालको बेइज्जत गरे तर पनि उनलाई लाजसरम छैन । जे गरेँ राम्रै गरे भन्छन् ।
सर्वत्र विरोध भएपछि संसद्बाट पास हुने अवस्था नभएपछि ५ नं. प्रदेश टुक्र्याउने संविधान संशोधन विधेयक फिर्ता लिए र फेरि अर्को विधेयक दर्ता गराए । यो पछिल्लो विवादास्पद विधेयकको पनि विरोध भएको छ । तैपनि यो विधेयक एमाले र मधेसी मोर्चाको सहमतिमा ल्याएको भनेर दिउँसै रात पार्ने काम गरे । तर मधेसी मोर्चाले संसद् नै बहिष्कार गर्दै स्थानीय चुनावमा भाग नलिने निर्णय गरेपछि उनको झूठको खेती छताछुल्ल भयो । तर पनि उनलाई कत्ति पनि लाज छैन । उनी यही विधेयकको नाममा सत्ता लम्ब्याउन चाहन्छन् । तर देउवालाई हतार भइसकेको छ प्रधानमन्त्री खान । उनीहरुको चरित्र र व्यवहार नेपालका लागि अभिशाप सिद्ध भएको छ । प्रचण्डले पनि देश र जनताको हितमा केही गरेनन् । अब देउवाको हातमा सत्ता सुम्पे मुलुक अर्को राजनीतिक दुर्घटना हुनसक्छ । त्यसैले नयाँ विकल्प खोजौँ र नेपाल जोगाउन नयाँ बाटो रोजौँ ।
– डा. अजय क्रान्ति शाक्य
चैत ३१ गते ।