टिकापुर हत्याकाण्डमा पति गुमाएकी शारदाको राष्ट्रपतिसँग वेदनाः राज्य हाम्रो कि, अपराध गर्नेहरुको ?
कविता घिमिरे
काठमाडौं, ३ पुस । २०७२ सालको वैशाखमा पति केशव बोहरासहित दुई छोरा सार्थक र सुभमसँग चाँदनी दोधाराको झोलुङ्गे पुलमा खिचेको तस्बिर अहिले पनि शारदा कडायत बोहरासँग सुरक्षित छ । सेती अञ्चल गुल्म धनगढीमा कार्यरत तत्कालिन प्रहरी निरीक्षक बोहोरासँग खिचेको तस्बिर करीब आठ वर्षदेखि शारदाले घरको भित्तामा जतनसँग सम्हालेर राख्नु भएको छ ।
चाँदनी दोधाराको झोेलुङ्गे पुलमा केशवको देब्रेहात समातेर त्यो तस्बिर खिचेको चार महिना पनि वित्न नपाउँदै केशव सधैँका लागि शारदाको साहराबाट अलप हुनुभयो । शारदाले त्यो तस्बिरमा लागेको धुलो धेरै पटक पुछेर सफा गर्नुभएको छ । तर, पतिवियोगले धमिलो बनेको शारदाको मन न त सफा बन्न सकेको छ न त उहाँ सम्हालिन नै सक्नुभएको छ ।
हो, शारदालाई अहिले पनि २०७२ साल भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा एक नाबालक र ८ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको बर्बरपूर्ण घटना र त्यहाँका दर्दनाक दृष्य र पलहरु स्मरण गर्न नपरोस् भन्ने लाग्छ । तर, समय यति निर्मम बनेर आइदिन्छ कि शारदा र उहाँका परिवारले विर्सिन खोजेका ती दर्दनाक पहलहरुलाई राज्यले नै समयसमयमा सम्झाइ दिन्छ र विचलित बनाइदिन्छ । केही दिन अघि मात्रै शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले टिकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएपछि शारदा र उहाँको परिवारमा बेचैनी बढेको छ भने शारदाको मनमा अशान्ति बढेको छ ।
चाँदनी दोधाराको झोेलुङ्गे पुलमा केशवको देब्रेहात समातेर त्यो तस्बिर खिचेको चार महिना पनि वित्न नपाउँदै केशव सधैँका लागि शारदाको साहराबाट अलप हुनुभयो । शारदाले त्यो तस्बिरमा लागेको धुलो धेरै पटक पुछेर सफा गर्नुभएको छ । तर, पतिवियोगले धमिलो बनेको शारदाको मन न त सफा बन्न सकेको छ न त उहाँ सम्हालिन नै सक्नुभएको छ
जबजब ती दिनको स्मरण हुन्छ तबतब शारदाका आँखाबाट आशुका भेल बनेर बग्न थाल्छन् र उभिँएको जमिन भासिएको अनुभूति हुन्छ । टिकापुर हत्याका दोषीलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेशबारे बुझ्न शारदालाई टेलिफोन सम्पर्क गर्दा उहाँले गला अवरुद्ध बनाउँदै यहि शब्द व्यक्त गर्नुभयो । ‘मैले मेरो जीवनमा यस्तो अकल्पनीय पीडाको अनुभूत गर्नुपर्छ होला भनेर कहिल्यै सोचेकी पनि थिइँन । ती दिन पटक–पटक सम्झिनु पर्दा अहिले पनि म विचलित हुन्छु,’ उहाँले भन्नुभयो ।
पति वियोगको पीडाका पहाडले थिचिएको मनलाई केही हदसम्म भए पनि शान्ति दिनका लागि शारदाको एउटै माग छ त्यो भनेको दोषीले उन्मुक्ति पाउँनु हुँदैन । तर, सत्तारोहण प्राप्तिका लागि राज्यले नै शारदाहरुलाई ती बर्बरपूर्ण दिनको स्मरण गराइदिन्छ र पीडा थपिदिन्छ । ‘मैले पतिवियोगका ती वियोगान्त दिन मानसपटलबाट हराउन नसकेको अहिले ८ वर्ष व्यथित भैसकेको छ,’ उहाँले भन्नुभयो, ‘उहाँको मृत्यूपछि एक्लो आइमाइ साना–साना दुई बच्चा हुर्काउनु पर्ने दायित्व यी सबैले यति धेरै मुस्किल हुनेरहेछ कि ती पीडाका पहाडबारे म शब्दमा व्यक्त गर्दा अहिले पनि विचलित हुन्छु ।’
टिकापुर घटनाका बेला आफैँ पनि जागिरे जीवनमा हुनुहुन्थ्यो शारदा । त्यसैबेला उहाँको सिउँदो मात्रै पुछिएन । दुइ छोरा हुर्काउनु पर्ने दायित्व पनि उहाँकै काँधमा थपियो । ‘पतिवियोगसँगै मेरो सिउँदो मात्रै पुछिएन । त्यतिबेला म एक्दो हुँदा समाजले हेर्ने दृष्टिकोणको सुमेरुबारे यहाँ व्यक्त गर्ने शब्द मसँग छैनन्,’ खुट्टाको चोटका कारण घरमै आराम गरिरहनु भएकी शारदाले भाबुक हुँदै त्यतिबेलाका घटनाको स्मरण गराउनुभयो, ‘म पतिवियोगको पीडासँगै समाजले एक्लो महिलालाई हेर्ने दृष्टिकोणबाट आजित भएर पनि समाजलाई नदेखाई धेरै पटक एक्लै रोइकी छु ।’
उहाँले एकल नारीले भोग्नुपर्ने पीडाको पहाडबारे टेलिफोनमै कुरा गर्दा पनि उहाँको मलिन बोलीले ती दिनका अँध्यारो कुनामा उहाँलाई जबरजस्ती धकेलेको अनुभूति गर्न मुस्किल हुँदैनथ्यो । ‘एकल नारीले खेप्नुपर्ने पीडा मैले सुनेकी मात्रै थिएँ । आफैँले भोग्न बाध्य भएपछि महशुस पनि गरेँ,’ उहाँले भन्नुभयो, ‘एकल नारी भएर कसैले पनि बाँच्न नपरोस ।’
तर, उहाँ आफुलाई आफैँ सम्हाल्नु हुन्थ्यो र भन्नुहुन्थ्यो रे । ‘एक मनले भन्थ्यो । यो समाजका लागि सयौँ हण्डर खाएर बाँच्नुपर्छ भन्ने अदभ्य आँटले मन भरिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘मेरा दुई छोराको मलिन अनुहारले पनि मलाई बाँच्नुपर्छ भन्ने हिम्मत थपिदिन्थ्यो । जेठो छोरा सार्थक अहिले अध्ययनका लागि क्यानडा छ । कान्छो सुभम स्वदेशमै छ । अहिले मेरो मन बहलाउने आधार बनेका छन् । सार्थक र सुभम ।’
तर, उहाँ आफुलाई आफैँ सम्हाल्नु हुन्थ्यो र भन्नुहुन्थ्यो रे । ‘एक मनले भन्थ्यो । यो समाजका लागि सयौँ हण्डर खाएर बाँच्नुपर्छ भन्ने अदभ्य आँटले मन भरिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘मेरा दुई छोराको मलिन अनुहारले पनि मलाई बाँच्नुपर्छ भन्ने हिम्मत थपिदिन्थ्यो । जेठो छोरा सार्थक अहिले अध्ययनका लागि क्यानडा छ । कान्छो सुभम स्वदेशमै छ । अहिले मेरो मन बहलाउने आधार बनेका छन् । सार्थक र सुभम ।’
केशवको हत्या हुँदा सार्थक १३ र सुभम १० वर्षका मात्रै थिए । पतिवियोगको पीडामा छटपटाएकी आफ्नी आमाको साहारा बनेका सार्थक र सुभमबारे कुरा गर्दा शारदा फेरि एक पटक मन थाम्न नसकेर रुनुभयो । ‘त्यतिबेला मेरा दुई छोरा ठूलो साहरा बनेका थिए । मेरा आँखाबाट भेल बनेर बगेका आँसु पछिदिन्थे र मेरो अँगालोमा आएर न्यानो मायाँ दिन्थे,’ यति भन्दै गर्दा उहाँ केहीबेर अवाक हुनुभयो र फेरि सँुक्कसुक्क गर्दै भन्नुभयो, ‘उनीहरुले आफ्नो पिताको हत्या भएको क्षणलाई नजिकबाट स्पर्श गरेका थिए । तर, मेरो त्यो बेलाको अवस्थालाई देखेर उनीहरु आमालाई थप पीडा हुन्छ भनेर बुबाको मायामा भक्कानिएको पीडालाई त्यसैत्यसै लुकाइ दिन्थे ।’
आमालाई पीडा हुन्छ भनेर छोराहरुले बुबाको कुरा नगर्दा पनि शारदाको मन बेचैन हुन्थ्यो ।
‘एकातिर मलाई उनीहरुले बुबाको कुरा नगर्दा झन्–झन् बढी पीडा हुुन्थ्यो भने अर्कोतर्फ उनीहरुले लुकाएको त्यो बेदनाले मेरो दर्द निकै हल्का भएको महशुस हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘फेरि ममाथि परेको बज्रपातले त्यत्तिनै मुटुमा शूल रोपे जसरी निरन्तर–निरन्तर घोचिरहन्थ्यो । अहिले पनि ती दिनलाई जबजब सम्झिनु पर्ने बाध्यता हुन्छ । अनि फेरि मेरो मुटमा शूल रोपेको अनुभूति हुन्छ र म मर्माहत हुन्छु ।’
राज्य हाम्रो कि, अपराध गर्नेहरुको ?
उहाँले कुराकानीकै सन्दर्भमा राज्यले आफूहरुमाथि अन्याय गर्न खोजेको दुखेसो पोख्नुभयो । ‘अहिलेसम्म कम्तिमा टिकापुर हत्याकाण्डमा मेरो पतिसँगै मारिएका सबै सुरक्षाकर्मी मेरो र हाम्रो परिवारका सदस्य मात्रै होइन राज्यका सदस्य पनि हुन् भनेर अनुभूत गरेका थियौँ,’ शारदाले भन्नुभयो, ‘म पनि राज्यले हामी सबैलाई न्याय दिन्छ भन्नेमा आशावादी थिए । तर, अहिले सरकारले नै नितान्त आफ्नो सत्तारोहण प्राप्तिका लागि त्यस्तो अपराधपूर्ण र अमानवीय कार्यमा संलग्न भइ दोषी ठहर भएकाहरुलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने प्रयास गरेको छ ।’ उहाँले यस्तो कार्य आफूहरु माथि राज्यले गर्न खोजेको ठूलो अमानवीय र अपराधपूर्ण भएको बताउनुभयो ।
उहाँले विगतमा पनि नयाँ सरकार बन्ने बेलामा अपराधीलाई उन्मुक्ति दिने र आफूहरुलाई दर्द थपिदिने प्रयासहरु पटक–पटक दोहोरिने गरेको भए पनि अहिले अध्यादेश नै ल्याएर मर्माहत गराउने काम भएको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘देशको नेतृत्व गर्छु भन्नेहरुलाई हामीले के सुझाव दिनु,’ उहाँले राज्यको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो,’ ‘तर, म देशको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री शेहबहादुर देउवालाई पनि यस्तो कार्य नगरिदिनु होला भनेर आग्रह गर्न चाहन्छु ।’
उहाँले अहिले आफु केहीलाई मात्रै परेको पीडामा राज्य निर्मम बन्न खोजको भन्दै भोलि यसैगरी राज्यबाट अपराधीहरुले उन्मुक्ति पाउँदै जाने वातावरण बन्यो भने सकारात्मक अवस्था सिर्जना नहुने दाबी गर्नुभयो । ‘अपराधीलाई राजनीतिक खोल ओड्दै उन्मुक्ति दिदैँ जाने हो भने गम्भीर अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थालाई राज्यले निमन्त्रणा गर्ने वातावरण नबनाओस् भन्ने मेरो आग्रह छ ।’
अपराधीहरु राजनीतिक खोल ओड्दै उम्किदैँ जाने हो भने देशमा न्याय मर्छ भन्ने शारदाको ठहर छ । ‘आफ्नो सत्तारोहण प्राप्तिका लागि संविधानलाई नै चुनौती दिएर अपराधपूर्ण र अमानवीय कार्यलाई राजनीतिकको खोल नओडाउनुहोस् भन्ने पनि मेरो आग्रह छ,’ उहाँले भन्नुभयो ।
अपराधीहरु राजनीतिक खोल ओड्दै उम्किदैँ जाने हो भने देशमा न्याय मर्छ भन्ने शारदाको ठहर छ । ‘आफ्नो सत्तारोहण प्राप्तिका लागि संविधानलाई नै चुनौती दिएर अपराधपूर्ण र अमानवीय कार्यलाई राजनीतिकको खोल नओडाउनुहोस् भन्ने पनि मेरो आग्रह छ,’ उहाँले भन्नुभयो
हो, तत्कालिन न्यायाधीश पर्शुराम भट्टराईको ईजलासले कैलाली जिल्ला अदालतबाट रेशम चौधरीसहितका मुद्दालाई हत्याकाण्डमा दोषी ठहर गर्दै कैदको फैसला गरेका मध्ये अहिले केही जेलमा छन् । हत्या काण्डको ८ वर्ष वितिसकेको छ अझै पनि दोषी ठहर भएकाहरु केही व्यक्ति स्वतन्त्र रुपमा घुमिरहेका छन् र खुलेआम राजनीतिक गरिरहेका छन् । त्यस्ता घटनाले पनि शारदाको मन बेचैन छ । ‘हामीले यो विषयमा पनि बारम्वार प्रहरी प्रशासन र राज्यलाई जानकारी गराउँदै आएका छौँ र कुरा पनि उठाउँदै आएका छौँ । तर, पीडितको आवाज कहिल्यै नसुनिने रहेछ,’ उहाँले भन्नुभयो, ‘टिकापुर हत्या काण्डमा मृत्यू भएकाका परिवार अहिले कहाँ छन् ? कस्तो अवस्थामा छन् ? भन्ने कुरामा राज्य वेखवर छ । तर, दोषीलाई उन्मुक्ति दिन अध्यादेश ल्याउँछ यो भन्दा न्याय मर्ने ठाउँ कहाँ छ ?’
उहाँले यस्तो अराजक अवस्था देख्दा भएको पीडामा राज्यले नै जेलमा रहेकाहरुलाई समेत उन्मुक्ति दिन अध्यादेश ल्याउने कार्य गरेर थप पीडा दिएको बताउनुभयो । ‘हामी निर्दोषहरुलाई जेलमा हाल्नुपर्छ भन्ने पक्षमा छैनौँ तर, दोषीलाई उन्मुक्ति दिने कुरा हामीमाथि गरेको अपराधपूर्ण कार्य बाहेक केही हुँदैन,’ उहाँले भन्नुभयो ।
राज्यबाट न्यायको दीप निभ्यो भने फेरि अदालत
अध्यादेशमार्फत दोषीलाई उन्मुक्ति दिने प्रयासमा अहिले राज्य लागेको भन्दै उहाँले यदि पीडितलाई अन्यायको भारी बोकाएर राज्यले सत्तास्वार्थका लागि अपराधपूर्ण काम गरेको अवस्थामा फेरि न्यायलय गुहार्ने बताउनुभयो । ‘अध्यादेशबाट दोषी छुट्ने अवस्था भयो भने हामीसँग सरकारले दिने न्यायको बत्ती निभ्ने छ र हामी न्यायका लागि आवाजको राँको बोकेर न्यायलयको ढोका न्याय नपाउन्जेल ढकढक्याई रहने छौँ,’ उहाँले भन्नुभयो, ‘कम्तीमा हामीसँग राज्य छ, हाम्रो न्यायका लागि राज्य लडिरहेको छ भन्ने आशाको दीप अध्यादेशमार्फत मार्ने काम भयो भने राज्यकै विरुद्धमा लड्नुको विकल्प हामीसँग केही रहन्न ।’
उहाँले न्यायका लागि लड्न तयार रहेको बताउनुभयो । ‘म अहिले पनि यहि सञ्चारमाध्ययममार्फत प्रधानमन्त्रीज्यूलाई विनयशील भावमा आग्रह गर्न चाहन्छु । तपाईँले अध्यादेश फिर्ता लिएर न्यायको बत्ती निभ्न नदिनुहोस्,’ उहाँले भन्नुभयो, ‘यदि तपाईले हाम्रो आवाज नसुनेर अपराधीलाई उन्मुक्ति दिनुहुन्छ भने तपाईँहरुले सुन्ने गरी भन्न चाहन्छु । हामीले हाम्रो परिवार गुमाएका छौँ । तर, हामी मरेका छैनौँ, हामी ज्यूँदा छौँ । हामी न्यायका लागि बाँचुन्जेल लडिरहन्छौँ र त्यो शक्ति राष्ट्रका लागि योगदान गर्दागर्दै मैदानमा ढलेका हाम्रा परिवारले दिनेछन् । सत्ता स्वार्थका लागि राज्य हाम्रा विरुद्धमा लाग्यो भने पनि म र हामीसँग न्यायलय, मानवअधिकारवादी, सञ्चार माध्ययम सुरक्षाकर्मी र अन्यायका विरुद्धमा जेहाद छेड्ने सबैसबै रहने छन् । त्यसैले राज्यले हार्ने अनि म र हामीले जित्ने निश्चित हुन्छ ।’
राष्ट्रपति र प्रधानमन्त्रीलाई सुझाव
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सकेसम्म अध्यादेश फिर्ता लिएर न्याय दिन सुझाव दिनुभयो । ‘प्रधानमन्त्रीज्यु तपाईँले त मन्त्रीपरिषद्बाट पारित गरेर त्यो अध्यादेश लगिसक्नुभयो । त्यो गर्नु नहुने काम गर्नुभयो । अपराधीलाई संरक्षण गर्नु भनेको राष्ट्रका लागि घात हो,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुले अहिले सत्ता स्वार्थका लागि अपराधीलाई संरक्षण गर्दै हुनुहुन्छ । भोलि त्यहि घटना आफूलाई नपर्ला भन्न सकिन्न । किनकि अपराधी भनेको अपराधी नै हो । उसले जुनसुकै बेला जे घटना पनि घटाउन सक्छ । त्यसैले जे गर्नुभयो भयो तपाईँले गलत गर्नुभयो । अझै पनि सक्नुहुन्छ भने फिर्ता लिएर न्याय मर्न नदिनुहोस् भन्न चाहन्छु ।’
उहाँले राष्ट्रपतिलाई पनि न्यायका लागि अपील गर्नुभयो । ‘राष्ट्रपतिज्यु, तपाईँ महिला पनि भएको नाताले हामी जस्ता सिउँदो पुछिएका महिलालाई न्याय दिनुहोस्,’ शारदाले भन्नुभयो, ‘आफ्नो टेबुलमा आएको अध्यादेशलाई फिर्ता पठाएर हाम्रो मर्मलाई बुझिदिनुहोस् । यो मर्म अहिले हामी जस्ता केहीका लागि हो । तर, यो राज्यलाई न्याय दिनका लागि पनि एउटा कोशेढुंगा हुनेछ ।’
शारदाको नजरमा पति केशव
शारदाले पति केशव असाध्यै सरल भएको बताउनुभयो । ‘उहाँ मेरो पति भएको हिसावले मात्रै मैले भनिरहेको छैन । उहाँ असाध्यै सरल र राम्रो हुनुहुन्थ्यो । राम्रो मान्छे धेरै टिक्दैन भन्ने भनाई पनि छ, सायद मेरो पतिको हकमा पनि त्यहि लागू भयो कि ?,’ उहाँले भन्नुभयो, ‘उहाँले कहिल्यै पनि अरुको अहित सोच्नुहुन्थेन । मैले सुने अनुसार त्यो भीडले प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने साबको हत्या गर्र्यो भन्ने सुनेपछि कतिपयले उहाँलाई त्यो भीडमा नजान सुझाव दिनुभएको थियो रे । तर, उहाँले मेरो कमाण्डरको हत्या भैसकेको छ । म ड्युटीमा खटिएको राष्ट्रसेवक हुँ । त्यसैले मैले ड्युटी छाडेर मैदानबाट भाग्न मिल्दैन भन्दै अघि बढ्दा उहाँको पनि त्यो जत्थाले हत्या गरेको थियो । उहाँ व्यक्तिगत स्वार्थ भन्दा माथि हुनुहुन्थ्यो भन्ने यो पनि एउटा उदाहरण हो ।’