सुनसरीका ८ वटा फार्ममा बर्डफ्लु पुष्टि: ११ हजारभन्दा बढी कुखुरा मारिए

काठमाडौँ, चैत ११ । सुनसरी जिल्लाका विभिन्न ठाउँमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठुलो सङ्ख्यामा कुखुरा र अण्डा नष्ट गरिएको छ। इटहरी उपमहानगरपालिकाका ६ वटा, दुहवी नगरपालिका र गढी गाउँपालिकाका १/१ गरी जम्मा ८ वटा कृषि फार्ममा यो सङ्क्रमण देखिएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सङ्क्रमण नियन्त्रणका लागि प्रभावित फार्मका कुखुरा र अण्डा नष्ट गरी खोर सरसफाइ गर्ने काम भइरहेको छ। इटहरी–१९ को ओकेओ कृषि प्रालिमा मात्रै ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको छ। अन्य फार्महरूमा पनि सङ्क्रमण नियन्त्रणको प्रयास जारी छ।

बर्डफ्लु फैलिएपछि प्रशासनले पक्षीजन्य वस्तुको ओसारपसार र बिक्रीमा रोक लगाएको छ। दाना र अण्डा ढुवानी गर्ने सवारीसाधनका माध्यमबाट सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ।