राष्ट्रपति भण्डारीद्वारा गुजरातका धार्मिक क्षेत्रको भ्रमण


राजकोट । भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नुभएको छ ।
गुजरातको राजकोटमा अपराह्न आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई गुजरातका गृह, शिष्टाचार तथा संसदीय मामिला मन्त्री प्रदीप जडेजा लगायतका गुजरात सरकारका उच्च पदाधिकारीले राजकोट विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राजकोट विमानस्थलबाट सिधै राष्ट्रपति भण्डारी भारतीय वायुसेनाको हेलिकप्टरबाट भारतको प्रसिद्ध तीर्थस्थल सोमनाथ तथा द्वारिकाधाम पुगी त्यहाँ भ्रमण तथा पूजाआजा गर्नुभयो । सोमनाथलाई भगवान् शिवजीका १२ ज्योतिर्लिङ्गमध्ये पहिलो ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गरिन्छ । राष्ट्रपति सोमनाथ मन्दिर क्षेत्रमा पुग्दा स्थानीय तथा मन्दिर व्यवस्थापनले भव्य स्वागत तथा सम्मान गरेका थिए ।
राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डललाई भारतीय वायुसेनाको हेलिकप्टरबाट सोमनाथ तथा द्वारिका भ्रमण गराइएको थियो ।

यसलगत्तै राष्ट्रपति सोही हेलिकप्टरबाटै द्वारिकानाथ धाम पुगेर त्यहाँ दर्शन तथा पूजाआजा गर्नुभयो । साथै, राष्ट्रपति भण्डारीले चढाउनुभएको तथा पूजा गर्नुभएको ध्वजा मन्दिरमा फहराइएको थियो ।
बैशाख ७ गते ।