लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदै
दाङ, २५ माघ । लुम्बिनी प्रदेशमा आज बुधबार राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ ।
दाङको घोराहीमा रहेकाे कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य पदका लागि सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।
राष्ट्रिय सभा सदस्य चुनावमा लुम्बिनी प्रदेशमा रहेका पालिकाका प्रमुख–उपप्रमुख र प्रदेश सभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिले मतदान गर्नेछन् ।