नेप्से ७.१३ अंकले घट्यो, कारोबार रकम साढे ३ अर्बभन्दा बढी
काठमाडाैं, २५ माघ । बुधबार नेप्से परिसूचक ७.१३ अंकले घटेकाे छ । अघिल्लो कारोबार दिन ७६.६४ अंकले बढेकाे नेप्से यस दिन घटेर २१७०.२१ अंकमा बन्द भएको हाे ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ।
अघिल्लो कारोबार दिन ३ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ५५ हजार ६०२ पटकको कारोबारमा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ।
कम्पनीको यस दिन ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन तेह्रथुम पावर कम्पनी र धौलागिरी लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्लो १० कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको आदर्श लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ।