लमजुङका स्थानीय तहसँग छैन दमकल, आगलागी हुँदा समस्यामा स्थानीय
लमजुङ, ६ वैशाख । लमजुङका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्नका लागि दमकल नभएकाले स्थानीयमा समस्या हुनेगरेकाे छ ।
लमजुङ जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । स्थानीयस्तरमा आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता छ । टाढाटाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि स्थानीयमा समस्या हुने गरेको छ ।
बेँसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “ठूलो आगलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेकोे छ । प्रायः स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगोलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।”
क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाभित्र दमकल आवश्यक रहे पनि बजेट अभावले खरिद गर्न नसकेको बताउनुभयो । “दमकल मात्र खरिद गरेर पनि हुँदैन आवश्यक दक्ष जनशक्तिदेखि प्राविधिक कुराहरु पनि आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।