निजामती र स्वास्थ्य सेवाका १२ राष्ट्रियस्तरका ट्रेड युनियनको दर्ता खारेज
काठमाडौँ, वैशाख २३ । सरकारले सार्वजनिक सेवामा रहेका ट्रेड युनियनसम्बन्धी कानुनी व्यवस्था हटाएसँगै निजामती र स्वास्थ्य सेवाका १२ वटा राष्ट्रियस्तरका ट्रेड युनियनहरूको दर्ता खारेज भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आइतबार प्रचलित कानुनबमोजिम ती संगठनहरूको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार निजामती सेवातर्फका ८ र स्वास्थ्य सेवातर्फका ४ गरी कूल १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरिएको छ। खारेजीमा पर्ने निजामती सेवातर्फका संगठनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन नेपाल रहेका छन् ।
यसैगरी, स्वास्थ्य सेवाअन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको पनि दर्ता खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिनुभयो ।
यसअघि ती ट्रेड युनियनहरू निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशील रहेका थिए । सरकारले हालै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत सार्वजनिक सेवामा रहेका ट्रेड युनियनसम्बन्धी प्रावधानहरू हटाएको थियो । राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएसँगै ती सेवाका राष्ट्रियस्तरका ट्रेड युनियनहरू कानुनी रूपमा निष्क्रिय भएका हुन् ।