काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याई विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालका विद्यासुन्दर शाक्य अत्यधिक मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ६४ हजार ९१३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाउनुभएको छ ।
त्यस्तै उपमेयरमा नेपाली काँग्रेसका हरिप्रभा खड्गी विजयी हुनुभएको छ । उहाँले ५८ हजार ९१२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाउनुभएको छ ।
मतगणना आज विहान सकिएको हो ।

नेकपा एमाले काठमाडौंका जिल्ला सचिव विद्यासुन्दर शाक्य काठमाठौँ महानगरपालिकाको मेयर निर्वाचित हुनुभएको छ । अहिलेसम्म कुनै पनि निर्वाचनमा हार बोहोर्नुनपरेका शाक्य मेयरमा निर्वाचित भएसँगै आगामी पाँचवर्ष भित्र काठमाडौँ महानगरपालिका सम्हाल्न जनप्रतिनिधिबाट अनुमोदित भइसक्नुभएको छ । काठमाडौं महानगर देशकै सबैभन्दा पुरानो र शक्तिशाली महानगर मानिन्छ।

विं.सं. २०२० जेठ ९ गते काठमाडौँको लगनटोलमा जन्मिनुभएका शाक्य अब आफ्नो टोलबाट करिब झण्डै डेढ किलोमिटर टाढाको दूरीमा रहेको बागदरवारमा अवस्थित काठमाडौं महानगरको कुर्सी पाँचवर्षका लागि सम्हाल्नु भएको छ ।

विद्यालयतहदेखि नै राजनीतिमा संलग्न सरल, सभ्य र सालिन व्यक्तित्वका धनी राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि केही गर्ने अठोट लिनुभएको थियो । निरन्तरको योगदान र निष्ठाको प्रतिफलका कारण आफू सफल भएको उहाँको भनाई छ ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गर्नुभएका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

नेवारी समुदायमा जन्मि-हुर्किनु भएका शाक्य काठमाडौंको भित्रि सहरमा निकै लोकप्रिय जनप्रतिनिधीका रुपमा छुट्टै पहिचालन बनाउन सफल हुनुभएको छ । कलिलो उमेरदेखि नै राजनीतिमा सक्रिय हुनुभएका शाक्य २०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बन्नुभएको थियो । १६ वर्षको कलिलो जवानीमै राजनीतिमा लाग्नुभएका शाक्यले ५४ वर्षको उमेर पार गर्दासम्म पनि राजनीतिमै दत्तचित्त भएर लाग्नुभएको छ ।

२०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेल्नुभयो । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा पटक-पटक प्रहरीको निसानमा समेत पर्नुभएको थियो । शाक्य प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो । शाक्यले त्यसैबेला पनि आफ्नो जिम्मेवारीलाई कुशल ढंगले पूरा गर्नुभएको थियो । काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उहाँको भूमिका उल्यख्य रहेको थियो ।

कुशल नेतृत्व देखेर पार्टीले २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्‍यो । त्यतिबेला पनि उहाँले भारी मतले विजय हाशिल गर्नुभयो । उहाँको सक्रियताकै कारण २०५४ सालमा दोस्रो कार्यकालमा पनि वडाध्यक्ष निर्वाचित हुनभयो ।

शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । मृदुभाषी र कुशल संगठकका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल हुनुभएको छ । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको निधन भैसकेको छ । हाल लगनटोलमै श्रीमती सुचिता शाक्यसहित परिवारसँग बस्दै आउनु भएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसक्नु भएको छ ।

उहाँले सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले काम गर्ने सोच बनाउनुभएको छ । ‘अब भनिने महानगर होइन देखिने महानगर बनाउने छु’ उहाँले भन्नुभयो ।