एमाले केन्द्रीय कमिटीकाे बैठक असार दोस्रो साता बस्ने
काठमाडौँ, १० जेठ । नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कमिटी बैठक आगामी असार दोस्रो साता बोलाउने निर्णय गरेको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले असारको दोस्रो साता बैठक बोलाउने नीतिगत निर्णय गरे पनि त्यसको निश्चित मिति भने तय गरिसकेको छैन। एमाले स्रोतका अनुसार, अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलबीचको आपसी परामर्शपछि बैठकको औपचारिक मिति र समय निर्धारण गरिनेछ।
तीन दिनसम्म चलेको सचिवालय बैठकले पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल गठन गर्ने र नेताहरूको कार्यविभाजन टुङ्ग्याउने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको छ। असारमा बस्ने केन्द्रीय कमिटी बैठकमा यी कार्यदलका प्रतिवेदनहरू र पार्टीको आगामी कार्यदिशाबारे विस्तृत छलफल हुने बताइएको छ।