चितवनको माडीमा दुईजना बालिकाको बलात्कारपछि हत्या

चितवन । चितवनको माडीमा दुई बालिकाहरुको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् । माडी नगरपालिका वडा नम्बर– ६ रामराज्यपुरस्थित मजुवा सिंचाइँ पोखरीमा २० गते शनिबार बिहान १० बजे पिकनिक खान भनी घरबाट हिँडेका थिए । १० वर्षकी दिपिका सुनार र वर्ष ११ की दीपशीला परियारको शव पोखरीमा फेला परेको थियो ।
मृतक २ बालिका मध्ये १ जनाको गुप्ताङ्गबाट रगत आएको र शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कार पछि हत्या गरेर फालेको हुनसक्ने स्थानीयको अनुमान छ ।
स्थानीयबासीले अनुसन्धानमा दबाव दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका थिए । बालिकाहरुको हत्या भएको भन्दै उनीहरुले अपराधीलाई खोजी गरी तत्काल कारबाहीको माग गरेका छन् ।
घटनाका बारेमा थप बुझ्न भन्दै सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा, मुद्दा फाँटकी प्रहरी अनुसन्धान अधिकृत अञ्जना श्रेष्ठ, जिल्लाका महिला अधिकारकर्मी, डाक्टर र पत्रकारसहितको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् ।