धनगढी यातायात कार्यालयका तत्कालीन प्रमुख शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ असार । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सरकारी कागजात सच्याएको एवम् परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख शाहीसहित तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार यातायात व्यवस्था कार्यालय धनगढीबाट तत्कालीन कार्यालय प्रमुख शाहीले आ.व. २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको छ ।

शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग ए, बी, सी/सी१, के र जे१ का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका १ सय ८० जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण अपलोड गरेको अख्तियारले बताएको छ ।

शाहीले परीक्षामा अनुत्तीर्ण भएका २ सय २१ जना गरी जम्मा २ सय ८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा अपलोड गरेको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार २ सय ८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैले स्वीकृत गर्ने कामसमेत शाहीकै आधिकारिक युजर आइडीबाट भएको पुष्टि हुन आएको हाे । साथै तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) कठरिया र कम्प्युटर अप्रेटर रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग ए, बी, र के का सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण अपलोड गरेको अख्तियारको दाबी छ ।

आयोगले शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजाय तथा कठरिया र रावललाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएकाे जनाएकाे छ ।