काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्वसम्मतिले पारित

काठमाडौँ, ३० असार । काठमाडौँ महानगरपालिका नगर सभाको १३ औँ अधिवेसन आज सकिएको छ । असार १० गतेको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट पेश गर्नुभएको थियो । बजेट सर्वसहमतिमा बजेट पास भएको हो । तेस्रो बैठकमा यस बर्षका लागि २५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेश भएको थियो । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको थियो ।

यो बर्ष शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीतिका आधारमा कार्यक्रम स्वीकृत भएका छन् । यस बर्षदेखि ठूलो क्षेत्र र जनसंख्या समेट्ने महानगर गौरवका योजना र महानगर स्वर्णिम योजना पनि कार्यान्वयनमा आउनेछन् ।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन् । यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीतिसँग सम्बन्धित नारा तथा योजना हुन् ।