विश्वकपमा केप भर्डेको सनसनी: नकआउट पुग्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र, अब अर्जेन्टिनासँग भिड्ने
काठमाडौं । फिफा विश्वकप २०२६ मा अफ्रिकी टापु राष्ट्र केप भर्डेले एउटा यस्तो कीर्तिमान रचेको छ, जसको कल्पना सायदै कसैले गरेका थिए । करिब ५ लाख ३० हजार मात्र जनसंख्या भएको यो सानो मुलुक विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा पुग्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ ।
अजेय यात्रा र ऐतिहासिक बराबरी
समूह ‘एच’ अन्तर्गत शुक्रबार राति भएको निर्णायक खेलमा साउदी अरेबियासँग ०–० को बराबरी खेल्दै केप भर्डेले अघिल्लो चरणको यात्रा तय गरेको हो । विश्वकपमा डेब्यु गरिरहेको यो टोली समूह चरणका तीनै खेलमा अपराजित रह्यो ।
यसअघि केप भर्डेले सन् २०१० को विश्वविजेता स्पेनलाई ०–० को बराबरीमा रोकेर विश्वलाई स्तब्ध बनाएको थियो भने पहिलो विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी खेल्दै सनसनी मच्चाएको थियो । तीन खेलबाट ३ अंक जोड्दै केप भर्डे स्पेनपछि समूह उपविजेताको रूपमा नकआउटमा पुगेको हो ।
४० वर्षीय गोलकिपर ‘भोजिन्हा’ बने नायक
केप भर्डेको यो ऐतिहासिक सफलताका मुख्य सूत्रधार ४० वर्षीय गोलकिपर भोजिन्हा (Vozinha) बनेका छन् । साउदी अरेबिया विरुद्धको खेलमा उनले तीनवटा निश्चित गोल बचाएर टोलीको संकट टारेका थिए । विशेषगरी खेलको इन्जुरी समयमा उनले गरेको बचाउ अविस्मरणीय रह्यो ।
पोर्चुगलको दोस्रो डिभिजनमा व्यावसायिक फुटबल खेल्ने भोजिन्हाको लोकप्रियता यो विश्वकपसँगै आकाशिएको छ । इन्स्टाग्राममा उनका फलोअर्सको संख्या १ करोड ६० लाख नाघिसकेको छ । खेलपछि प्रतिक्रिया दिँदै उनले भने, “हामी सानो देश हौंला, तर हाम्रो मुटु ठूलो छ र हामी लडाकु हौं ।”
भावुक प्रशिक्षक र खुसीयाली
टोलीका प्रशिक्षक बुबिस्टाले आफ्नै देशको झण्डा ओढेर मैदानमा खुसी मनाउँदै भने, “हामीले विश्वलाई देखाइदियौँ कि सानो देशले पनि ठूलो लक्ष्य प्राप्त गर्न सक्छ । मलाई विश्वास थियो कि ढिलो वा चाँडो केप भर्डे यो उचाइमा पुग्नेछ ।” रंगशालामा उपस्थित केप भर्डेका समर्थकहरूले “साना टापु, ठूला सपना” लेखिएका प्लेकार्ड बोकेका थिए । भोजिन्हाकी आमा आना क्यान्डिडा इभोरा पनि भिसा समस्या सुल्झिएपछि छोराको खेल हेर्न रंगशाला पुगेकी थिइन् ।
अबको भिडन्त: मेसीको अर्जेन्टिनासँग
केप भर्डेको यो सपना जस्तो यात्रा अब झनै चुनौतीपूर्ण मोडमा आइपुगेको छ । ‘राउन्ड अफ ३२’ मा केप भर्डेले साविक विश्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ । आगामी जुलाई ३ मा मियामीमा हुने यो खेलमा विश्वकपको सबैभन्दा सानो राष्ट्रले फुटबलका जादुगर लियोनल मेसीको टोलीलाई चुनौती दिनेछ ।
यसै समूहबाट स्पेन ७ अंकसहित विजेता बन्यो भने उरुग्वे र साउदी अरेबिया प्रतियोगिताबाट बाहिरिएका छन् । लगातार तीन खेल बराबरी गरेर पनि नकआउट पुग्ने दुर्लभ टोलीको सूचीमा अब केप भर्डेको नाम पनि थपिएको छ ।