एआई मेसिनहरूलाई चिसो राख्न 'लिक्विड कुलिङ सिस्टम' प्रयोग गरिन्छ । एउटा १०० मेगावाटको ठूलो  डाटा सेन्टरले वर्षमा करिब २.५ अर्ब लिटर पानी खपत गर्छ, जुन ८० हजार मानिसको वार्षिक आवश्यकता बराबर हो ।

आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अर्को पाटो: डाटा सेन्टरले बढाउँदैछन् पृथ्वीको तापक्रम

 

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै विश्व प्रविधि जगतमा एक नयाँ चुनौती थपिएको छ । ठूला प्रविधि कम्पनीहरूले एआई चलाउन निर्माण गरेका ‘डाटा सेन्टर’ हरूले वरपरको वातावरण र जमिनको तापक्रम उल्लेखनीय रूपमा बढाइरहेको पछिल्लो अध्ययनले देखाएको छ ।

क्याम्ब्रिज विश्वविद्यालय र नान्यङ टेक्नोलोजिकल युनिभर्सिटीका शोधकर्ताहरूले गरेको एक अध्ययन अनुसार, एआई डाटा सेन्टरहरू सञ्चालनमा आएपछि त्यस वरपरको जमिनको सतहको तापक्रम सरदर २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) ले बढेको पाइएको छ । कतिपय स्थानमा यो वृद्धि ९.१ डिग्री सेल्सियस सम्म रेकर्ड गरिएको छ ।

के हो ‘डाटा हिट आइल्याण्ड इफेक्ट’?
जसरी सहरहरूमा हुने मानवीय गतिविधि र भौतिक संरचनाका कारण ग्रामीण क्षेत्रको तुलनामा सहर बढी तातो हुन्छ (जसलाई ‘अर्बन हिट आइल्याण्ड इफेक्ट’ भनिन्छ), त्यसरी नै डाटा सेन्टरहरूको उच्च घनत्व भएका क्षेत्रमा उत्पन्न हुने तापक्रमलाई शोधकर्ताहरूले ‘डाटा हिट आइल्याण्ड इफेक्ट’ को संज्ञा दिएका छन् । नासा (NASA) को भूउपग्रह तथ्याङ्क प्रयोग गरी सन् २००४ देखि २०२४ सम्मको तापक्रम विश्लेषण गर्दा यस्तो प्रभाव डाटा सेन्टरभन्दा १० किलोमिटर टाढासम्म महसुस गर्न सकिने पाइएको छ ।

किन यति धेरै तातो हुन्छन् डाटा सेन्टर?
हामीले च्याटजीपीटी वा जेमिनाई  जस्ता एआई औजार प्रयोग गर्दा पछाडि ठूला डाटा सेन्टरहरूमा रहेका शक्तिशाली कम्प्युटर चिपहरूले चौबीसै घण्टा काम गरिरहेका हुन्छन् । यी चिपहरूले हजारौं गणनाहरू एकसाथ गर्ने हुनाले अत्यधिक बिजुली खपत गर्छन् र ठूलो मात्रामा ताप उत्पन्न गर्छन् ।

  • बिजुली खपत: इन्टरनेशनल इनर्जी एजेन्सी का अनुसार सन् २०२४ मा डाटा सेन्टरहरूले ४१५ टेरावॉट घण्टा बिजुली खपत गरे, जुन विश्वव्यापी विद्युत आपूर्तिको करिब १.५ प्रतिशत हो । सन् २०३० सम्म यो खपत दोब्बर हुने अनुमान छ ।

  • पानीको प्रयोग: एआई मेसिनहरूलाई चिसो राख्न ‘लिक्विड कुलिङ सिस्टम’ प्रयोग गरिन्छ । एउटा १०० मेगावाटको ठूलो  डाटा सेन्टरले वर्षमा करिब २.५ अर्ब लिटर पानी खपत गर्छ, जुन ८० हजार मानिसको वार्षिक आवश्यकता बराबर हो ।

विश्वमा कहाँ छन् यस्ता डाटा सेन्टर?
हाल विश्वभर ११,६०० भन्दा बढी डाटा सेन्टरहरू सक्रिय छन् । यसको वितरण निम्न अनुसार छ:

  • अमेरिका: ४,३०० भन्दा बढी (विश्वमा सबैभन्दा धेरै) ।

  • युरोप: बेलायत (५४०+), जर्मनी (५२०+) र फ्रान्स (३९०+) मुख्य हब हुन् ।

  • एशिया: चीन (३६०+) र भारत (३००+) नेतृत्वदायी स्थानमा छन् भने दक्षिण–पूर्वी एशियामा यसको विस्तार तीव्र छ ।

गुगल, अमेजन र माइक्रोसफ्ट जस्ता ‘हाइपरस्केल’ प्रदायकहरूका डाटा सेन्टरहरू सन् २०२१ यता ७०० बाट बढेर करिब १,३०० पुगिसकेका छन् ।

मानव जीवनमा असर
शोधका अनुसार विश्वभर करिब ३४ करोड मानिसहरू डाटा सेन्टरको १० किलोमिटरको दायराभित्र बसोबास गर्छन् । डाटा सेन्टरबाट निस्कने तातो हावा र बढ्दो तापक्रमले स्थानीय समुदायको स्वास्थ्य, उर्जाको माग र समग्र जीवनशैलीमा नकारात्मक असर पुर्‍याइरहेको छ ।

वातावरणविद्हरूले अब एआईको विकास गर्दा केवल प्रविधिको गतिलाई मात्र नहेरी यसले निम्त्याउने ‘थर्मल प्रदूषण’ र वातावरणीय दिगोपनलाई पनि ध्यान दिनुपर्ने चेतावनी दिएका छन् । एआईलाई वातावरणमैत्री बनाउनु अबको मुख्य चुनौती बनेको छ ।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी, अल्जाजीरा र लेखहरु)