सामाखुशीमा बाढीले बगाएकाे बालक अझै भेटिएन, खोजी जारी
काठमाडौं, ८ साउन । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै भेटिएकाे छैन ।
काठमाडाैं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीका अनुसार बाढीले बेपत्ता भएका बालककाे खोजी कार्य जारी रहेको छ ।
सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए ।
विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।