फिफा उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै मेक्सिकोले जोड्यो ३ अंक

काठमाडौं, २९ जेठ । फिफा विश्वकप २०२६ को सुरुवाती खेलमा मेक्सिकोले आफूलाई पहिलो जितको भागेदार बनाएको छ । मध्यराती १२ः४५ बजे भएको दक्षिण अफ्रिका र सह–आयोजक मेक्सिकोबिच उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सानदार जित हात पारेको हो ।

मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन दक्षिण अफ्रिका २–० ले पराजित भयो । खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए ।

६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाएका थिए।

यी दुई टोली १६ वर्षपछि बिहीबार मध्यरातमा उद्घाटन खेलमै आमनेसामने भएका थिए । करिब ८० हजार दर्शकले एकै पटक एस्टाडियो अज्टेका रंगशालाबाट यो पटकको फिफा विश्वकपको उद्घाटन भएको हो । ४८ टोलीको सहभागिता रहेको यो प्रतियोगिता ३९ दिन लामो हुनेछ ।

यो प्रतियोगितामा कुल १०४ खेल हुनेछन् । यसअघि कतारमा सन् २०२२ मा भएको फिफा विश्वकपमा जम्मा ६४ खेल मात्रै भएको थियो । तीन देश—संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन् ।
समूह ‘ए’ को दोस्रो खेल आज बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ ।