आधुनिकताको भेलमा हराउँदै गरेको भजन संस्कृति जोगाउन तम्सिए तनहुँवासी, युवाको आकर्षणले जगायो आशा

तनहुँ, २९ जेठ । आधुनिकता र प्रविधिको तीव्र प्रभावका कारण गाउँघरबाट लोप हुन लागेको मौलिक ‘भजन संस्कृति’ जोगाउन तनहुँका स्थानीय बासिन्दाहरू जुर्मुराएका छन् । धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको अभिन्न अङ्ग मानिने भजन पछिल्लो समय ओझेलमा पर्न थालेपछि यहाँका भजन समूह, युवा पुस्ता र आमा समूहहरू यसको संरक्षणमा सक्रिय भएका हुन् ।

व्यास नगरपालिकाका विभिन्न वडामा अहिले नियमित भजन अभ्यास र प्रशिक्षणका कार्यक्रमहरू सुरु भएका छन्, जसले हराउँदै गएको पुरानो संस्कारलाई पुनः ब्युँताउने प्रयास गरिरहेको छ । व्यास नगरपालिका–५ पतेनीस्थित जलेश्वर भजन समूहका अगुवा तेजप्रसाद लामिछाने भजनलाई गाउँघरको आत्मा मान्छन् । “मनोरञ्जनका आधुनिक माध्यमले गर्दा हाम्रो मौलिक भजन ओझेलमा पर्यो,” लामिछाने भन्छन्, “हामीले यसलाई जीवित राख्न नियमित अभ्यास र नयाँ पुस्तालाई सिकाउने अभियान नै चलाएका छौँ ।”

यस्तै, सोही वडाको सिन्धु भजन समूहका रामबाबु रेग्मीका अनुसार पछिल्लो समय युवा पुस्तामा देखिएको परिवर्तन उत्साहजनक छ । “पहिले भजनमा बूढापाका मात्र हुन्थे, तर अहिले युवाहरू पनि रहर गरेर सिक्न थालेका छन्,” रेग्मीले भने । युवालाई आकर्षित गर्न आधुनिक वाद्यवादन र प्रतियोगितात्मक शैलीलाई पनि अपनाउन थालिएको उनको भनाइ छ ।

भजन संरक्षणमा यहाँका आमा समूहहरूको योगदान निकै बलियो देखिएको छ । व्यास–१ गल्वुवेसीस्थित नवआदर्श आमा समूहकी सावित्री हड्खलेले भजनलाई केवल पूजापाठको माध्यम मात्र नभई नयाँ पुस्तालाई संस्कार सिकाउने पाठशालाका रूपमा लिएको बताइन् । “हाम्रो उद्देश्य नयाँ पुस्तालाई नैतिक शिक्षा र सांस्कृतिक चेतना फैलाउनु पनि हो,” उनले थपिन् ।

सरोकारवालाहरूका अनुसार भजन संस्कृति सङ्कटमा पर्नुका मुख्य कारणहरू यस्ता छन् ।
युवा पुस्तामा बढ्दो वैदेशिक रोजगारीको मोह ।
आधुनिक सङ्गीत र प्रविधिको अत्यधिक प्रभाव ।
परम्परागत सीप हस्तान्तरणमा देखिएको कमी ।
व्यस्त जीवनशैली र सामाजिक सहकार्यमा आएको ह्रास ।

पराशर आश्रम संरक्षण समितिका सचिव महेन्द्र गिरीका अनुसार भजनले मानिसहरूलाई जोड्ने, सहकार्य र सहिष्णुता बढाउने काम गर्छ । यो केवल धार्मिक अनुष्ठान मात्र नभई सामुदायिक एकताको बलियो प्रतीक भएको उनको ठहर छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले भजनजस्ता मौलिक संस्कृति बचाउन स्थानीय सरकार, विद्यालय र सांस्कृतिक सङ्घसंस्थाबीच समन्वय आवश्यक रहेको बताए ।