पौडेल र सिटौला समूहले नाम नदिएपछि देउवालाई मन्त्री छान्न कठिन

nepali-congress-flag

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँगको परामर्शपछि सरकारमा जाने मन्त्रीहरूको नाम पठाउने तयारी गर्नुभएको छ । तर मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्री छान्न कठिन भएको छ । रामचन्द्र पौडेल समूहले भागवण्डा नमिलेको भन्दै नाम नदिएपछि अहिलेसम्म मन्त्रीको टुंगो लाग्न सकेको छैन । आज अपराह्न बैठक बसेर मन्त्रीको नाममा सहमति खोज्न प्रयास गरिने भएको छ । मन्त्रीको टुंगो लागेको खण्डमा आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ । तर सम्भावना कम हुँदै गएको छ । देउवाले आफ्नो समूहका मन्त्रीहरुको नाममा टुंगो लगाए पनि पौडेल र सिटौला समूहले नाम दिएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भन्नुभयो, पार्टीबाट १२ वटा मन्त्रालयमा मन्त्रीहरूको नाम पठाइने छ । काँग्रेसले १३ वटा मन्त्रालय पाएको चर्चा यसअघि भए पनि मन्त्री लेखकले काँग्रेसले १४ वटा मन्त्रालय पाउने जानकारी दिनुभयो ।
सबै पक्षलाई मिलाएर मन्त्री बनाउन गृहकार्यमा जुट्नु भएका सभापति देउवा मन्त्रीको टु्ंगो लगाएर शुक्रबार सिंगापुर जाने तयारी गर्नुभएको छ ।
भदौ ८ गते ।