जुन वर्गको हितमा एमालेले काम गरेको छ त्यही विरोधीको आरोप लाग्नु आश्चर्य हो – छविलाल विश्वकर्मा

जुन वर्गको हितमा एमालेले काम गरेको छ त्यही विरोधीको आरोप लाग्नु आश्चर्य हो
छविलाल विश्वकर्मा
स्थायी कमिटी सदस्य, नेकपा (एमाले)
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा कांग्रेस–माओवादी गठबन्धन अहिले संविधान कार्यान्वयन नगर्ने खेलमा लागेको आरोप लगाउनुहुन्छ । अरुकै इशारामा बनेको गठबन्धनबाट संविधान जारी नहुने संशय उत्पन्न भएको भन्दै उहाँले त्यसको खवरदारी एमालेले निरन्तर गर्ने बताउनुभयो । एमालेलाई मधेस विरोधी, आदिवासी–जनजाती र दलित विरोधी भन्ने आरोपको पनि उहाँले खण्डन गर्नुभयो । विश्वकर्मासँग एमाले केन्द्रीय कमिटीको जारी बैठक, पछिल्लो राजनीतिक अवस्था, कांग्रेस–माओवादीको गठबन्धन आदिका बारेमा केन्द्रित भएर मैत्री न्युज डटकमले गरेको कुराकानीः
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनुभएको छ ?
हामी निकै चुनौतिपूर्ण अवस्थाबाट हामी गुज्रिएका छौँ । हाम्रो पार्टी नेकपा (एमाले) को सातौँ केन्द्रीय कमिटी बैठक जारी अहिले पनि जारी छ । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा गम्भीर छलफल भयो, बहस भयो । उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेनमा केन्द्रीय सदस्यहरुले गम्भीर ढंगले बहस र छलफल गरेर राय–सुझाव प्रस्तुत गरेपछि त्यो प्रतिवेदन पारित भएको छ, पारित गरिएको छ । हामीले केन्द्रीय कमिटी बैठकबाट केही निश्चित एजेण्डाहरुलाई पारित गर्दै छौँ । हाम्रो रणनीतिलाई पनि अघि सार्दै छौँ ।
केन्द्रीय कमिटी बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका बारेमा चर्चा भयो होला नि ?
निश्चय पनि भयो । हामीले निकै लामो संघर्षपछि नेपाली जनताको चाहना अनुरुपको संविधान जारी गर्न सफल भएका छौँ । यो सबैको गौरवको कुरा हो । लामो संघर्षपछि जारी संविधान कार्यान्वयन नहुने हो कि भन्ने संशय अहिले उत्पन्न भएका छन् । त्यसले हामीलाई दुःखी बनाएको छ । पूर्ववर्ती सरकारले यो संविधान कार्यान्वयनका लागि कार्ययोजना नै बनाएर प्रस्तुत गरेको थियो । त्योसँगै त्यो सरकारले कामको थालनी पनि गरेको थियो । तर, अहिलेको सरकारले संविधान कार्यान्वयनका लागि ध्यान दिएको वा प्रक्रिया अघि बढाएको अवस्था देखिदैँन । प्रमुख राजनीतिक दलहरुका बीचमा यो सन्दर्भमा कुराकानी हुनु पर्ने हो । त्यो पनि भएको छैन ।
नयाँ संविधानलाई कार्यान्वयन गर्नका लागि नेकपा (एमाले)को भूमिका चाहिँ कस्तो रहन्छ ?
नेकपा (एमाले) अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा छ । एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा भए पनि संविधान कार्यान्वयनका सन्दर्भमा भने एमाले निरन्तर लागि पर्ने छ । एमालेको भूमिका र योगदान रहने कुरामा प्रष्ट छ । संवैधानिक रिक्तता रहन नदिनका लागि संविधान कार्यान्वयन गरेर अघि बढ्नुपर्छ भन्नेमा एमाले अहिले पनि अडिक छ । एमाले त्यही ढंगले भूमिका खैल्दै अघि बढ्छ ।
तपाईँहरुले ०७४ माघसम्ममा तीन–तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व छ । यो संभव छ त ?
हो, हामीले ०७४ सम्ममा तीन–तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व छ । त्यसका लागि ऐन–कानुन बनाउनु पर्नेछ । यी सबै कामहरुलाई हेरेर सरकार गम्भीर भएर अघि बढ्नु पर्ने हो । तर, सरकार त्यसतर्फ केन्द्रित भएको जस्तो लागेको छैन । यसले पनि थप समस्या भएको छ । यसमा सरकार गम्भीर भएन भने हामीले ठूलो समस्या झेल्नु पर्ने हुन्छ ।
अहिले तपाईँले त्यसो भन्दै गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा भएको गठबन्धन सरकारले त ०७४ माघसम्ममा तीन वटै तहका निर्वाचन सम्पन्न गर्ने संभावना निकै कम देखिएको छ नि ?
अहिले आम जनतामा संविधान कार्यान्वयन नहुने हो कि भन्ने आशंकासँगै अविश्वास समेत पैदा भएको छ । केपी ओली नेतृत्वको सरकारले ०७४ माघसम्ममा तीन वटै तहका निर्वाचन सम्पन्न गर्ने र संविधान कार्यान्वयन गर्ने गरी कार्ययोजना अघि सारेको थियो । यो कुरा मैले अघि पनि उल्लेख गरेँ । तर, अहिलेको सरकारले ती कार्ययोजनालाई धरापमा पारेको छ । संविधान कार्यान्वयनकै कुनै पनि कार्ययोजना यो सरकारले अघि सार्न सकेको छैन । यो सबै भन्दा दूर्भाग्य हो भन्ने मैले ठानेको छु । हाम्रो पार्टी नेकपा एमालेले पनि यही ठानेको छ ।
हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले सबै पार्टीहरुलाई अहिलेको संरचना अनुसार अघि बढन् र त्यही अनुरुपका काम अघि बढाउन पटक–पटक छलफल गरेको थियो । हामीले पटक–पटक संविधान कार्यान्वयन गरुन्जेल सबै पार्टीहरुबीच सहकार्य गरेर अघि बढ्नु पर्छ पनि भनेका थियौँ । तर, नेपाली कांग्रेस त्यसबाट पछि हट्यो । पछिल्लो समय त नेकपा माओवादी केन्द्र पनि पछि हटेको छ र ती दुई पार्टीबीच गठबन्धन बनेको छ ।
यो गठबन्धनलाई चाहिँ कसरी लिनुभएको छ ?
कांग्रेस–माओवादी गठबन्धन र यसको गतिविधि आम नेपाली जनताको नजरमा परि नै सकेको छ । दृष्य–अदृष्य शक्तिलाई आधार मानेर यो गठबन्धन बनेको छ ।यो गठबन्धनले समय अवधि तोकेरै सरकारको नेतृत्व गर्ने भनेको छ भनेपछि सबैले सहज अनुमान लगाउन सक्छन् । अवस्था के–छ भन्ने । त्यसैले हामी प्रमुख प्रतिपक्षी दलको हैसियतमा संविधान कार्यान्वय गर्ने र मुलुकमा देखिएका जटिलतालाई सामना गर्ने गरी सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ । हामी संविधान निर्माण र कार्यान्वयनको एक जिम्मेवार दल पनि भएका नाताले हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गराएका हौँ । हामी गतिपय गतिविधिलाई हामी जनताको बीचमा पनि लिएर जादैँछौँ । म फेरि पनि भन्छु । यो सन्दर्भमा हामी सबै दल गम्भीर भएर सहमतिका साथ अघि बढ्नु पर्ने अवस्था छ । यो भएन भने हामी थप संकटमा पर्न सक्छौँ ।
तपाईँले अघि पनि भन्नुभयो । कांग्रेस–एमालेको गठबन्धन अदृष्य शक्तिको आडमा बनेको भन्नुभयो । त्यो भनेको दक्षिणतिरको संकेत हो ?
नेपालको समस्या नेपालका राजनीतिक दलले गर्ने हो । नेपाली जनताले गर्ने हो । नेपालको समस्या बाहिरका कसैले गर्ने होइन । संविधान जारी गर्ने, अध्यावधिक र संशोधन पनि हामीले नै गर्ने हो । एमाले नेतृत्वको सरकारमै रहेका बेला नेकपा माओवादी केन्द्रले निकै ठूला चुनौतीलाई पार गर्दै आएको थियो । त्यति मात्र होइन माओवादी नै संलग्न रहेको सरकारले आम जनताको मनोभावनालाई ख्याल गरेर नीति, कार्यक्रम र बजेट ल्यायो । जसले आम नेपाली जनतामा विश्वास पैदा गरेको थियो । यस्तो अवस्थामा माओवादीले नयाँ गठबन्धन बनाउनु पर्ने कुनै कारण थिएन । त्यो माओवादीले पनि जान्ने कुरा हो । यो कुराको समीक्षा नेपाली जनता, नेपालको राजनीतिले गर्ने नै छ । अहिलेलाई यति भनौँ । माओवादी केन्द्रलाई अहिले एमालेको गठबन्धन टुटाएर नयाँ गठबन्धन गर्नुपर्ने कुनै कारण थिएन । नयाँ गठबन्धन बन्नु नै हामीलाई आश्चर्य लागेको छ । नयाँ गठबन्धन बनि सकेपछि पनि पूर्ववर्ती सरकारले गरेका कामलाई समेत निरन्तरता दिने काममा पनि केही समस्या देखिएको छ । यसले पनि हामीलाई दुःखी बनाएको छ ।
नेकपा (एमाले)लाई मधेस विरोधी, आदिवासी–जनजाती र दलित विरोधीको आरोप लाग्ने गरेको छ । जारी केन्द्रीय कमिटी बैठकले पनि यी आरोप चिर्न अब एमाले जनताको घर–दैलोमा जाने भनेको छ । साच्चै यो भ्रम अब चिरिने हो ?
सबैभन्दा अचम्म के–छ भने सबै भन्दा बढी राजनीतिक महत्वका काम जुन पार्टीले जुन वर्ग र समूदायका लागि गरिरहेको छ । त्यही वर्ग र समूदाय एमालेका विरुद्धमा छ । तराई–मधेसका जनताको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि सबै भन्दा बढी भूमिका खेल्ने एमालेलाई नै सबै भन्दा बढी आरोप तराई–मधेस विरोधी भनेर लाग्ने गरेको छ । यो सबै भदा आश्चर्यको कुरा हो । एमालेको सबै भन्दा बढी योगदान तराई–मधेसकै लागि छ । यही पार्टी त्यसको विरोधी भयो भन्नु आश्चर्यको कुरा छ । एमालेको अहिले पनि तराई–मधेसमा सबै भन्दा बढी जनआधार छ । एमाले नेतृत्वको सरकारले ल्याएको बजेटकै कुरा गर्ने हो भने पनि सबै भन्दा बढी महत्व तराई–मधेसलाई दिएको छ । दलित र उत्पिडितका पक्षमा पनि एमालेले ध्यान दिएको छ । अनि कसरी एमाले मधेस विरोधी, आदिवासी–जनजाती र दलित विरोधी हुन्छ ?