संविधान संशोधन र पूरक बजेट दुबैमा एमालेको असहमति, एमाले मनाउने प्रयास विफल भएपछि प्रचण्ड संकटमा

काठमाडौँ ।संविधान संशोधन प्रस्ताव र पूरक बजेट दुवैमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विफल हुनुभएको छ । दुवै प्रस्तावमा एमालेको सहमति नजुटेपछि संकटमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले लाज लुकाउन भए पनि प्रस्ताव संसदमा दर्ता गराउने तयारी गर्नुभएको छ ।
उहाँले प्रस्ताव गर्नुभएको संविधान संशोधनमा,एमाले, संघीय समाजवादी पार्टीलगायतका दलहरुमात्र नभएर स्वयं उहाँकै दल नेकपा माओवादी केन्द्रकै कतिपय नेताहरु असहमत भएकाले यो विषय जटिल र कठिन बन्दै गएको छ । राजधानीलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन भइरहेका छन् ।
संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद् दर्ता गराउने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डल प्रमुख प्रतिपक्षी दल एमालेसँग पुनः परामर्श गरे पनि सहमति जुटेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई बोलाएर संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरुप छलफल गर्नुभयो । भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमा समेत एमालेको सुझाव माग्नुभएको थियो ।
भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमासमेत सुझाव माग्नुभएको थियो । जवाफमा एमालेले संशोधनको प्रस्ताव असान्दर्भिक भएको बताउँदै अहिले पूरक बजेट ल्याउनुपर्ने आशयप्रति प्रश्न उठाएको थियो ।
प्रधानमन्त्रीसँग संविधान संशोधन र पूरक बजेटका सन्दर्भमा कुराकानी भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो । “संशोधनको कुरा राष्ट्रको हितमा छैन, यसले अन्योल र अरु द्वन्द्व निम्त्याउन सक्छ, जसका लागि संशोधन गरिँदैछ, उनै विरोधमा रहेकाले कसका लागि संशोधन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,”,उहाँले भन्नुभयो । एमालेले पूरक बजेट कुन आशयका साथ ल्याउन लागेको हो र अहिले आएर किन समर्थन चाहियो भन्ने प्रश्न पनि प्रधानमन्त्री समक्ष राखेको उपाध्यक्ष रावलले बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा तथा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षद्वय वामदेव गौतम र रावल सहभागी हुनुहुन्थ्यो ।