काठमाडौँलाई ‘ओपन स्टुडियो’ र रचनात्मक उद्योगको केन्द्र बनाउने कार्यवाहक प्रमुख सुनिता डंगोलको संकल्प : ४० युवालाई फोटोग्राफी तालिम दिइँदै

काठमाडौँ, बैशाख १५ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरलाई एउटा जीवन्त ‘खुला चलचित्र स्टुडियो’ का रूपमा विकास गर्दै युवाहरूलाई सिर्जनशील स्वरोजगारतर्फ डोहोर्‍याउने विशेष योजना अघि सार्नुभएको छ। महानगरको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत युवाहरूलाई प्रतिस्पर्धी र सिपमूलक बनाउने लक्ष्यसहित महानगरपालिकाले चलचित्र विकास बोर्डसँग ४० जनालाई उच्चस्तरीय फोटोग्राफी तालिम दिने सम्झौता गरेको हो ।

कार्यवाहक प्रमुख डंगोलको रोहवरमा आज महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका अध्यक्ष दिनेशराज दहालबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौताले केवल तालिम मात्र नभई काठमाडौँको कला, संस्कृति र सहरी सौन्दर्यलाई रचनात्मक अर्थतन्त्रसँग जोड्ने दीर्घकालीन सोचलाई मूर्तरूप दिएको छ ।

तालिम सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँका परम्परागत डबली, चोक र ननीहरूलाई चलचित्र प्रदर्शन र छायाङ्कनको केन्द्र बनाइने बताउनुभयो। “हामी काठमाडौँलाई केवल भौतिक संरचनाको सहर मात्र होइन, एउटा खुला र जीवन्त स्टुडियोका रूपमा स्थापित गर्न चाहन्छौँ,” डंगोलले भन्नुभयो, “भित्री सहरका डबलीदेखि बाहिरी वडाका पार्कहरूसम्म चलचित्र संस्कृतिलाई विस्तार गरेर निर्माताहरूलाई प्रोत्साहन गर्ने र समुदाय स्तरमा श्रव्यदृश्य उत्पादनको क्षमता विकास गर्ने हाम्रो योजना छ ।”

डंगोलले यस अभियानलाई दिगो बनाउन क्षेत्रगत विज्ञ र साझेदारहरूसँग सहकार्य गर्न महानगर सदैव तयार रहेको उल्लेख गर्दै रचनात्मक उद्योगलाई रोजगारीको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

बोर्डका अध्यक्ष दिनेशराज दहालले महानगरको यो भिजनलाई साकार पार्न बोर्डले पूर्ण साथ दिने प्रतिबद्धता जनाउनुभयो। “फोटोग्राफीबाट सुरु भएको यो सहकार्यले आगामी दिनमा रचनात्मक उद्योगको प्रवर्धनमा नयाँ इँटा थप्नेछ,” दहालले भन्नुभयो ।

सम्झौता अनुसार बोर्डले फोटोग्राफीको व्यावसायिक पाठ्यक्रममा आधारित रहेर ४० जना प्रशिक्षार्थीलाई तालिम प्रदान गर्नेछ। यस कार्यक्रमको कुल लागतमध्ये ८० प्रतिशत महानगरपालिकाले र २० प्रतिशत चलचित्र विकास बोर्डले बेहोर्ने गरी लागत साझेदारी सुनिश्चित गरिएको छ। यो पहलले युवाहरूलाई प्राविधिक रूपमा दक्ष बनाई श्रम बजारमा स्थापित हुन मद्दत पुग्ने विश्वास गरिएको छ ।