लुसी अहिलेसम्मकै लोकप्रिय अन्वेषण

अमेरिका । प्राग् मानवशास्त्रको अध्ययनमा लुसीलाई अहिलेसम्मकै सबभन्दा लोकप्रिय खोज मानिँदै आएको छ। त्यही भएर उसलाई हामी मानव जातिकै ‘हजुरआमा’ भनिन्छ।
चार दशकअघि सन् १९७४ मा लुसीको पूर्ण कंकाल फेला परेको थियो। ३२ लाख वर्ष पुरानो उक्त कंकालमाथि हालसम्म वैज्ञानिक खोज जारी छ। यस क्रममा नयाँ–नयाँ तथ्य सार्वजनिक हुँदै आएका छन्। अन्तर्राष्ट्रिय जर्नल ‘प्लस वन’ मा गरिएको सार्वजनिक पछिल्लो शोधपत्र लुसीको कद, वजन र बसोबाससँग सम्बन्धित छ।
लगभग आधा शताब्दी पुरानो कंकालको अनुसन्धानका आधारमा वैज्ञानिकहरूले यो नयाँ शोधपत्र लेखेका हुन्।
उनीहरू के नतिजामा पुगेका छन् भने, लुसीको हातका हड्डी निकै बलिया थिए। यति बलियो हात त्यस्तो प्राणीको मात्र हुन सक्छ, जो धेरैजसो समय रूखमै झुन्डिएर बिताउँछ। सम्भवतः त्यो बेला लुसीकै प्रजातिका अरू प्राणीको हात पनि यत्तिकै बलियो थियो भन्ने वैज्ञानिकहरूले आँकलन गरेका छन्।
लुसीका बारेमा सार्वजनिक यो नयाँ तथ्य राम्ररी बुझ्न ऊ को हुन् भन्ने थाहा पाउनु जरुरी छ।
को हुन् त लुसीरु
मानव विकासक्रमको अन्वेषणमा जुटेका वैज्ञानिकहरूको एउटा टोली सन् १९७४ मा अफ्रिकाको इथियोपिया पुगेको थियो। अन्वेषणको नेतृत्व प्राग् मानवशास्त्री डा। डोनाल्ड जोहान्सनले गरेका थिए। मानव विकासक्रमसँग जोडिएको रहस्यको गाँठो फुकाउन जीव तथा वनस्पतिका अवशेष ९फोसिल० खोज्नु उनीहरूको उद्देश्य थियो।
‘फोसिल’ खोज्न गएका ती अन्वेषक भाग्यमानी रहेछन्, उनीहरूले एउटा हातको सग्लो हड्डी नै फेला पारे। जोहान्सन र उनका सहकर्मीहरूले उत्साहित हुँदै त्यही ठाउँ वरिपरिका माटो पनि खनेर हेरे। संयोगले त्यस क्षेत्रमा अरू पनि थुप्रै हड्डी फेला परे। ती सबै मान्छेकै जस्ता देखिन्थे। र, सबै फरक–फरक अंगका थिए।
सबै हड्डीलाई प्रयोगशालामा ल्याएर जोडजाड पारेर हेर्दा लगभग मानव कंकाल नै बन्यो। यसबाट वैज्ञानिकहरूले चारवटा नतिजा निकाले।
पहिलो, ती सबै हड्डी एउटै जीवको हो।
दोस्रो, त्यो जीव लगभग तीन फुट अग्लो थियो।
तेस्रो, त्यो स्त्रीलिंगी हो।
चौथो र सबभन्दा महत्वपूर्ण, त्यो जीव ३२ लाख वर्षअघि यही पृथ्वीमा हिँडडुल गर्थ्यो, हामीजस्तै।
वैज्ञानिकहरूले मान्छेसँग धेरै हदसम्म मिल्दोजुल्दो त्यो जीवलाई ‘अस्ट्रेलोपिथेकस’ नाम दिए। र, त्यो कंकालको नामकरण गरे, लुसी।
प्राग् मानवशास्त्रीहरूको निम्ति लुसी अत्यन्तै महत्वपूर्ण खोज थियो। यसले समग्र मानव विकासक्रमको बुझाइमै परिवर्तन ल्याइदियो। तैपनि लुसीसँग सम्बन्धित थुप्रै प्रश्न अनुत्तरित थिए। लुसीको मृत्यु कसरी भयोरु त्यो स्वाभाविक मृत्यु थियो वा अस्वाभाविकरु लुसी कहाँ बस्थीरु मान्छेजस्तै हिँड्थी कि रुखमा चढेर सुत्थीरु यस्ता कयौं प्रश्न थिए, जसको उत्तर खोज्न वैज्ञानिकहरूले वर्षौंदेखि लुसीको उही कंकाललाई विभिन्न कोणबाट ओल्टाइपल्टाइ हेरिरहेका थिए।
लुसीमाथि निरन्तर खोज र अनुसन्धानमा जुट्दै आएको वैज्ञानिक टोलीले केहीअघि मात्र उसको मृत्युको रहस्य सुल्झाएको थियो। लुसीको मृत्यु अग्लो रुखबाट खसेर भएको थियो भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
यो पछिल्लो खोजले थप रहस्य सुल्झाएको छ– लुसी सानी थिई। दुब्ली थिई। बलियी थिई। र, ऊ आफ्नो धेरैजसो समय रुखमै झुन्डिएर बिताउँथी।
वैज्ञानिकहरू यस्तो नतिजामा कसरी पुगे तरु
अमेरिका भ्रमणपछि इथियोपियाको राष्ट्रिय संग्रहालयमा सन् २०१३ मा खिचिएको लुसीको अस्थिपंजर।
यसका लागि उनीहरूले कुनै पनि प्राणीको हड्डी कसरी विकास हुन्छ भन्ने अध्ययन गरेका छन्। मान्छे वा अन्य जीवले शरीरको कुन हड्डी कसरी प्रयोग गर्छ भन्ने आधारमा त्यसको विकास निर्भर हुन्छ। बढी प्रयोग हुने हड्डी स्वाभाविक रूपले बढी बलियो हुन्छ भने कम प्रयोगमा आउने हड्डीहरू स्वतः कमजोर हुँदै जान्छन्।
वैज्ञानिकहरूले लुसीको दाहिने हात र खुट्टाका हड्डीको आन्तरिक संरचना केलाए। त्यसलाई करिब सय वटा विभिन्न खालका चिम्पान्जी र हजार जना मान्छेको हड्डीसँग दाँजेर हेरे। लुसीको हातको हड्डी जुन प्रकारले विकास भएको थियो, उसको निम्ति रूखमा झुन्डिनु वा रूखमै समय बिताउनु अस्वाभाविक वा असामान्य थिएन। अनुसन्धाताहरूका अनसार उसको हात र गोडाको शक्ति मान्छेको भन्दा बढी थियो, झन्डैझन्डै चिम्पान्जीसँग मिल्दोजुल्दो। यही आधारमा लुसी धेरैजसो समय रूखमै बिताउँथी भन्ने ठहर गरिएको हो।
‘लुसीले आफ्ना हातगोडा मान्छेको तुलनामा बढी नै तन्काउँथी,’ अध्ययनमा नेतृत्वमा गरेका जोन हप्किन्स विश्वविद्यालयका प्राग् मानवशास्त्री क्रिस्टोफर रफले भने, ‘यसको अर्थ लुसी चिम्पान्जीजस्तै थिई भनेको होइन।’
लुसीको हड्डी दैनिक जीवनमा कसरी प्रयोग हुन्थ्यो भन्ने थाहा पाउन अनुसन्धाताहरूले ती हड्डीका अवशेषको ‘थ्री–डाइमेन्सन’ मोडल विश्लेषण गरेका थिए। यसबाट उनीहरूले के पाए भने, लुसीको हातको हड्डी भित्र खोक्रो थियो। हामीले कोकाकाला पिउँदा प्रयोग गर्ने पाइपजस्तै। त्यसलाई तेर्सो पारेर काट्ने हो भने झन्डैझन्डै चुराझैं देखिन्थ्यो। तल्लो चुराको तुलनामा माथिल्लो चुरा बढी चौडा थियो। हड्डीको टुक्रा जति बढी चौडा भयो, त्यसले उति बढी शक्तिशाली छ भन्ने झल्काउँछ। उदाहरणका लागि, व्यावसायिक टेनिस खेलाडी जुन हातले खेल्छन्, त्यसको हड्डी अर्को हातको तुलनामा बढी चौडा हुन्छ।
‘लुसीको हड्डीको टुक्रा तुलनात्मक रूपमा निकै चौडा थियो,’ टेक्सास विश्वविद्यालयका प्राग् मानवशास्त्री डा। जोन केपलम्यानले भने, ‘ऊ दुब्ली थिई, सानी थिई, तर उसको हातका हड्डीहरू बलिया थिए। रूख चढ्ने, झुन्डिने र त्यसैमा बढी समय बिताउने जीवहरूको हड्डी मात्र त्यति बलियो हुन्छ।’
इथियोपियाको राष्ट्रिय संग्रहालयमा राखिँदै आएको लुसीको कंकाललाई सन् २००७ मा संयुक्तराज्य अमेरिकाको भ्रमण गराइएको थियो। ह्युसटन प्राकृतिक विज्ञान संग्रहालयमा यसको प्रदर्शनीसमेत गरिएको थियो। उक्त प्रदर्शनीपछि लुसीले टेक्सास विश्वविद्यालयमा १० दिन बिताएकी थिई। त्यही बेला डा। केपलम्यान र उनका सहकर्मीहरूले हड्डीको ‘थ्री–डाइमेन्सन’ आकृति तयार पारेका थिए। ती टुक्राटुक्रा आकृति जोडेर केपलम्यानले एउटा सग्लो रूप दिए, जुन लगभग तीनफुट अग्लो मान्छेजस्तै देखिन्थ्यो।
लुसीको त्यही थ्री–डाइमेन्सन स्वरूप अध्ययन गर्ने क्रममा केपलम्यान र उनको टोलीले लुसीको मृत्यु रूखबाट खसेर भएको पत्ता लगाएको थियो।
एरिजोना स्टेट विश्वविद्यालयका प्राग् मानवशास्त्री डोनाल्ड जोहान्सन भने लुसी रूखमा मात्र बस्थी भन्ने तर्कसँग सहमत छैनन्।
लुसीको कंकाल फेला पारेका यी वैज्ञानिक उसले बढी समय रूखमा बिताए पनि विस्तारै जमिनमा हिँडडुल गर्ने कला सिकिसकेकी थिई भन्ने दाबी गर्छन्। यसलाई पुष्टि गर्न जोहान्सनले लुसीको कुर्कुच्चा र पैताला देखाए। भने, ‘उसको कुर्कुच्चा र पाइताला हेर्नुस्, त्यो तपाईं–हाम्रो जस्तै छ, चिम्पान्जीको जस्तो होइन। यसले लुसी रूखमा बस्ने भए पनि हिँड्न जानिसकेकी थिई भन्ने देखाउँछ।’
लुसीको कंकाल फेला परेयता प्राग् मानवशास्त्रीहरूले ‘अस्ट्रेलोपिथेकस’ जातिका अन्य थुप्रै अवशेष फेला पारिसके। ती सबै अवशेषमा पैताला र घुँडा समान पाइएको छ। यही आधारमा वैज्ञानिकहरू के भन्छन् भने, लुसीको समयसम्म हाम्रा पुर्खाहरू बाँदरजस्तो एउटा रूखबाट अर्कोमा हाम्फाल्न पोख्त थिएनन्। उनीहरूले रूख चढ्न र हाँगाहरूमा उफ्रिन लगभग बिर्सिसकेका थिए। बरु यसको सट्टा उनीहरू जमिनमा हिँडडुल गर्न थालेका थिए। रूखबाट जमिनतर्फको यो यात्रा आहाराको खोजीका लागि भएको वैज्ञानिकहरूको निष्कर्ष छ।
‘अस्ट्रेलोपिथेकस जमिनमा हिँड्ने दुईखुट्टे जीव नै थियो,’ डा। जोहान्सनले भने।
यसमा पनि वैज्ञानिकहरूको राय बाझिन्छ।
लुसीको हात र काँधका हड्डी लचिलो रहेकाले उनी रूख चढ्न पोख्त थिइन् भन्ने केही वैज्ञानिक बताउँछन्। जमिन र रूखको माथिल्लो हाँगोमा उनको समय बराबर बित्ने गरेको उनीहरूको अनुमान छ। सुरुमा रूखको हाँगोमा दुई खुट्टाले हिँड्दै उनी र उनकै समयका अन्य वनमान्छे भुइँतिर ओर्लेको र ठम्ठम्ती हिँड्न थालेको अनुसन्धानकर्ताहरू बताउँछन्।
लुसीले हिँड्न जानेकी थिई कि थिइनन् भन्ने विवाद आगामी दिनमा सुल्झँदै जाला, तर पछिल्लो शोधबाट एउटा कुरा भने प्रस्ट छः ‘लुसीको हातको हड्डी एक–दुईचोटि रूखका हाँगामा झुन्डिएर मात्र त्यति बलियो भएको होइन। उसले पक्कै पनि लामो समय रूखमै झुन्डिएर बिताएको हुनुपर्छ।’