कोशी र गण्डकीमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, १७ वैशाख । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला मुलुकका अधिकांश भागमा बदली र वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेस प्रदेशका साथै पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहे पनि हिमाली क्षेत्रमा भने सामान्य बदली नै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा र अन्य प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

वर्षा, चट्याङ र हावाहुरीका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।