केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ : प्रचण्ड

लहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल सिरहाद्वारा लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको हुँदा सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुन्छ ।”
प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको छ भन्नुभयो ।
“सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको जोडबल छ,” उहाँले भन्नुभयो — “संसद्मा दत्र्ता गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता नलिने तर त्यसमा सकारात्मक परिमार्जन भन्ने गर्न सकिन्छ ।”
प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै ढिलै भए पनि प्रतिपक्षले पनि संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।
मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रशङ्ग कोट्याउँदै उहाँले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको छ भन्नुभयो ।