बर्लिन आक्रमणकारीको युरोपभर खोजी तीव्र

बर्लिन । जर्मनीको बर्लिनस्थित क्रिशमश बजारमा सोमबार भएको हमलाका मुख्य संदिग्ध ठानिएका ट्युनिशियाली नागरिकको खोजीकार्य युरोपभर जारी छ।
अनिस आम्री नाम गरिएका ती संदीग्धको सम्पर्क इस्लामवादी संयन्त्रसँग हुँदाहुँदै पनि उनलाई जर्मनीमा अस्थायी रुपमा बस्न दिइएको थियो।
तर उनलाई शरण दिन भने जर्मनीले अस्वीकार गरेको थियो।
गत सोमबार बर्लिनमा १२ जनाको ज्यान जाने गरि भएको लरी हमलाका मुख्य संदिग्ध ठानिएका ट्युनिशियाली नागरिक यो वर्षको शुरुमा पनि सुरक्षाकर्मीको निगरानीमा रहेको सञ्चारमाध्यमहरुले बताएका छन्।
२४ वर्षीय अनिश आम्री नाम गरिएका ती व्यक्तिलाई बन्दुक खरिद गर्न चाहिने रकमका लागि चोरीको योजना बुनेको शंकामा निगरानी गरिए पनि पर्याप्त प्रमाण नपुगेको भन्दै त्यो हटाइएको थियो।
जर्मनीमा स्थायी शरण नपाएका उनी अहिले युरोपभर खोजिको विषय बनेका छन्।
लरीको चालककक्षमा उनको आवास अनुमतिपत्र फेला परेपछि उनलाई पक्रनका लागि पूर्जी जारी गरिएको छ।
जर्मनीका अधिकारीहरुले उनी खतरनाक भएको र उनीसँग हतियार हुनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका छन्।