ट्रम्पको समूह ओबामाकेयर खारेज गर्ने पक्षमा, डेमोक्रेटहरुको आपत्ति
वासिङ्टन डीसी । अमेरिकाका भावी राष्ट्रपति डोनल्ड ट्रम्पको समूहले स्वास्थ्य सेवा सम्बन्धी कानून खारेज गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति बराक ओबामाले उक्त कानूनको पक्षमा लड्न डेमोक्र्याटिक नेताहरुलाई आग्रह गर्नुभएको छ।
क्यापिटल हिलमा दुई घण्टा भएको गोप्य बैठकमा ओबामाले आफ्नो दलका सदस्यहरुलाई सो कानूनको पक्षमा उभिन आग्रह गर्नुभयो ।
त्यसअघि रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्सले ट्रम्पले कार्यकाल शुरु गरेकै दिनबाटै कानून खारेजीको प्रक्रिया अघि बढाइने बताउनुभयो।
तर सिनेटमा डेमोक्र्याटतर्फका नेता चक सुमरले जनस्वास्थ्यमा सबैको पहुँच पुग्ने वैकल्पिक कानून प्रस्ताव गरे मात्रै उहाँको दलले रिपब्लिकनहरुसँग मिलेर काम गर्ने टिप्पणी गर्नुभएको छ।
सो कानूनले करिब २ करोड अमेरिकीहरु सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याएको बताइन्छ।
सुलभ ढंङ्गले स्वास्थ्य सेवामा पहुँच दिने भनी सन् २०१० मा ल्याइएको उक्त कानूनका कारण स्वस्थ्य बीमा वापत बढी रकम तिर्नुपरेको र कयौँ ठूला बीमा कम्पनीले आफ्ना बीमा योजनाहरु नै फेरबदल गरिरहेको देखिन्छ।
बहिर्गमनअघि क्यापिटल हिल पुगेका ओबामासँग छलफलपछि आफ्नो कार्यकालको महत्वपूर्ण घरेलु उपलब्धिका रुपमा रहेको स्वास्थ्य सुधार सम्बन्धी कानून जोगाउन प्रोत्साहित भएको डेमोक्र्याटिक नेताहरुले बताएका छन्।
दशकौँयता रिपब्लिकनहरुले ह्वाइट हाउस र अमेरिकी संसदका दुवै सदन नियन्त्रण गर्न लागेको सन्दर्भमा दह्रो हुन ओबामाले आफ्ना नेताहरुलाई आग्रह गर्नुभयो।