काठमाडौं महानगरपालिकाले स्ट्रिट लाइट तथा हाईमास्टहरुमा स्मार्ट प्रविधिको प्रयोग गरी उज्यालो र सुरक्षित महानगर बनाउने
काठमाडौं, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले स्ट्रिट लाइट तथा हाईमास्टहरुमा स्मार्ट प्रविधिको प्रयोग गरी उज्यालो र सुरक्षित महानगर बनाउने भएको छ । आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो । ‘डेटाबेसमा आधारित भई महानगरपालिका क्षेत्रभित्र रहेका नदी किनार, सार्वजनिक स्थलको संरक्षण गर्न आवश्यक पूर्वाधारका कार्य गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, ‘महानगरपालिका क्षेत्रभित्र भौतिक पूर्वाधार विकास तथा सेवा सञ्चालन गर्ने निकायहरुबिच समन्वय गरी सार्वजनिक वित्तको उच्चतम प्रतिफल प्राप्त हुने र महानगरवासीलाई असुविधा नहुने प्रबन्ध मिलाउन एकीकृत संयन्त्र गठन गरी सक्रिय बनाइनेछ।
यसका लागि जीआइएसमा आधारित अनुगमन प्रणाली विकास गरी प्रयोगमा ल्याइनेछ।’ बिद्युतीय भवन अनुमति प्रणालीलाई समय सापेक्ष अद्यावधिक गरी बायोमेट्रिक प्रणालीलाई राष्ट्रिय परिचयपत्रको प्रणालीसँग अन्तरआबद्धता गर्ने प्रबन्ध मिलाउने, बैंक तथा वित्तिय संस्थासँग समन्वय गरी महानगर क्षेत्रभित्रका घरजग्गा धितो राखी ऋण प्रवाह गर्दा काठमाडौँ महानगरपालिकाको बिद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने, महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा पहिलोपटक भवन निर्माण गर्दा नक्सापास दस्तुरमा १५ प्रतिशत छुट दिने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण हुने र निर्माण भैसकेका सार्वजनिक तथा निजी सबै किसिमका भवन तथा भौतिक संरचनाको जोखिम हस्तान्तरण तथा आर्थिक सुरक्षाको उचित व्यवस्था गर्न सहुलियतपूर्ण दरमा विमा गर्ने प्रबन्ध गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ’आगामी ५ बर्षभित्रमा महानगरपालिकाभित्रका सम्पूर्ण भवनहरुलाई विपद् उत्थानशील बनाउने अभियानको शुरुवात गर्न यसै आ।व। देखि समुदायको सहभागितामा जोखिम सर्वेक्षण तथा प्रवलीकरण र आवश्यक मर्मत सम्भार गर्ने कार्यको थालनी गरिनेछ।’
उर्जा दक्ष प्रविधि, जमिनमुनि पानी पुनर्भरण गर्ने प्रविधि जस्ता प्रविधिको समाहित गरी भवन निर्माण गर्ने कार्य थालनी गर्ने, सडक सुरक्षा, प्रभावकारी ट्राफिक व्यवस्थापन र गुणस्तरीय सार्वजनिक यातायातको प्रबर्धनमार्फत् सुरक्षित, व्यवस्थित र दिगो शहरी यातायात प्रणाली विकास गर्ने नीति अवलम्बन गर्ने, पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माण तथा सेवा विस्तार गर्ने जस्ता कुरालाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ । ‘साझा यातायात मार्फत् रात्रिकालिन यातायात सेवालाई क्रमशः विस्तार गरी जीवन्त र समृद्ध शहरको अवधारणा कार्यान्वयन गरिनेछ। सार्वजनिक यातायात सेवालाई मर्यादित र विश्वसनीय बनाउन सहकार्य गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘जग्गा विकास आयोजना हस्तान्तरण सम्बन्धी कानुनी प्रबन्ध गरी काठमाडौँ महानगरपालिकाबाट सञ्चालित नयाँ बजार र चःमति जग्गा एकीकरण आयोजना हस्तान्तरण गरिनेछ। मनोहरा जग्गा एकीकरण आयोजनालाई आवश्यक बजेटको व्यवस्था गरी आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइनेछ।’
सुन्धारा धरहरा क्षेत्रको सञ्चालन तथा व्यवस्थापन, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र स्थापना तथा सञ्चालन र काठमाडौँ प्लाजा भवन दीगो रुपमा सार्वजनिक प्रयोगको लागि काठमाडौँ महानगरपालिकालाई उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गरिएको भन्दै नीति तथा कार्यक्रममा सो अनुरुप नेपाल सरकारबाट प्राप्त गर्न पहल गरी प्राथमिकताका साथ योजना कार्यान्वयन गर्ने पनि उल्लेख गरिएको छ । ‘नदी किनार तथा सार्वजनिक स्थानका जोमिखपूर्ण वस्तीबाट उद्दार गरी संरक्षण गरिएका व्यक्तिहरुको व्यवस्थापकीय कार्यका लागि निकायगत जिम्मेवारी यकिन गरिएको कार्ययोजना स्वीकृत गरी शिघ्र कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सहरी गरिब, विस्थापित र केही नभएका तथा कोही नभएका व्यक्ति तथा परिवारका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी उपयुक्त स्थानमा उचित व्यवस्थापनको लागि सामुहिक आवासको प्रबन्ध गरिनेछ।’