निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो पत्रकार सम्मेलन, आफूविरुद्ध लगाइएका आरोप खारेज

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले रुससंग उहाँ सम्बद्ध आपत्तीजनक व्यक्तिगत र व्यवसायिक जानकारीहरु रहेको भन्ने सूचना गुप्तचर निकायहरुले नै चुहाएको हुनसक्ने बताउनुभएको छ ।
राष्ट«पति निर्वाचित भैसकेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफुविरुद्ध लगाइएका आरोपहरुलाई आक्रोशपूर्वक खारेज गर्नुभयो।
यसअघि सामाजिक सन्जाल ट्वीटरमा सन्देश लेख्दै उहाँले नक्कली समाचारलाई सार्वजनिक गरेका भनी अमेरिकी गुप्तचर निकायहरुको आलोचना गर्नुभएको थियो।
डोनल्ड ट्रम्पविरुद्ध लगाइएका र पुष्टि हुन नसकेका आरोपहरुमा मस्कोसंग ट्रम्पले यौनकर्मीहरुसंग समय बिताएको भिडियो र उहाँको व्यापारिक चासोमा क्षति पुग्ने जानकारीहरु रहेका बताइएको छ।
ट्वीटरमा लेख्दै डोनल्ड ट्रम्पले रुसले आफूबाट कुनै पनि अनुचित फाइदा लिन नखोजेको भन्दै आफ्नो रुससंग कारोबार, ऋण वा कुनै पनि प्रकारको सम्बन्ध नरहेकोमा जोड दिनुभएको थियो।
उहाँले त्यस्ता आरोपहरुका पछाडि विपक्षीहरुको हात रहेको भन्दै आफूले सहजै राष्ट्रपति निर्वाचन जितेको र एउटा महान आन्दोलनको औचित्य सावित भएकोले दुष्ट विपक्षीहरुले आफ्नो जितलाई होच्याउने प्रयास गरेको बताउनुभयो।