सर्वोच्चका वरिष्ठतम् न्यायाधीश उपाध्यायको अवकाश
काठमाडौँ, २९ पुस । सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण आजबाट अवकाश पाउनुभएको छ ।
सर्वोच्च अदालतमा आयोजित बिदाइ कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले माया चिनो प्रदान गरी न्यायाधीस उपाध्यायलाई बिदाइ गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीश, कर्मचारीले पनि उहाँलाई फूलमाला लगाएर बिदाइ गरेका थिए ।
प्रधानन्यायाधीश कार्कीले अवकाश पछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना दिँदै आवश्यक परेका बेलामा आफूहरुले परामर्श लिने बताउनुभयो ।
वरिष्ठतम् न्यायाधीश उपाध्याय पुनरावेदन अदालत राजविराज र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश हुँदै २०६८ साल मङ्सिर २० गतेबाट सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो । सर्वोच्च अदालतमा न्यायाधीसको उमेरको हद ६५ वर्ष तोकिएको छ ।
उहाँका दुई दाईहरु विश्वनाथ उपाध्याय र केदारनाथ उपाध्यायले सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएर अवकाश लिनुभएको थियो । रासस