बीर सपुतको सम्झनामा आज शहीद दिवस

Bir Sahid

काठमाडौ। आज माघ १६ गते शहीद दिवस । शहीद दिवसको अवसरमा स्वदेश तथा विदेशमा महान शहीदहरुको संझना गर्ने विभिन्न कार्यक्रम भैरहेको छ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने गरिन्छ।

अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानमा यो दिवस मनाइने गरिएको हो।

Sahid Gate

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ। विक्रम संवत् १९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो।

माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।