अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना

maitrinews

वासिंटन। शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ ।

अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएका छन् ।

तैपनि ट्रम्प प्रशासन आफ्नो निर्णयबाट टसमस भएको छैन । ह्वाइट हाउसमा ट्रम्पसँग पहिलो अन्तर्राष्ट्रिय नेताका रुपमा भेट गर्न लागेकी ब्रिटिश प्रधानमन्त्री टेरिजा मेले पनि विदेश मन्त्रालयमार्फत् ट्रम्पको निर्णयप्रति चिन्ता व्यक्त गरेकी छन् ।

ब्रिटेनका लेबर पार्टीका नेता जेरेमी कार्बिनले त ट्रम्पको ब्रिटेन यात्रा नै रोक्नुपर्नेसम्मको प्रस्ताव गरेका छन् । ट्रम्पले आफ्नो निर्णय फिर्ता नलिएसम्म ब्रिटेन आउन दिन नहुने उनको भनाइ छ। ट्रम्पको निर्णयको आलोचना गर्दै जर्मन चान्सलर एञ्जेला मर्केलले यस रवैयाबाट आतंकवादसँग लड्न नसकिने प्रष्ट पारेकी छन् ।

अमेरिकामै पनि रिपब्लिकन सिनेटर जोन मैक्केनले यस निर्णयले आईएसआईलाई फाइदा पुग्ने आशंका व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो फैसलाको बचाउ गर्दै यस निर्णयबाट हलचल पैदा हुनपर्ने कुनै कारण नभएको टिप्पणी गरेका छन् ।

अरब लिगका प्रमुख अहमद अबूल गेथले यो निर्णय कदापी स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् । ईरान र इराकले त अमेरिकी नागरिकलाई पनि आफ्नो देशमा प्रवेश नदिने प्रष्ट गरिसकेका छन् । ट्रम्पले इस्लामिक आतंककारीलाई देशबाट बाहिर राख्ने भन्दै शुक्रबार इराक, लिबिया, सुडान, सोमालिया, यमन र इरानका नागरिकलाई तीन महिना तथा सिरियालीलाई अर्को सूचना नभएसम्मका अमेरिका प्रवेशमा रोक लगाउन आदेश जारी गरेका थिए । (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।