पूर्वी युक्रेनमा भीषण भिडन्त, मानवीय संकट सुरु

युक्रेन । युक्रेनको पूर्वी सिमानामा रहेको नगर आभ्डियिभ्कामा रुस समर्थक लडाकुहरुसँग भिडन्त चर्किएपछि अधिकारीहरुले त्यहाँका बासिन्दालाई अन्तै सार्ने सम्भावनाको तयारी गर्दैछन्।
बिजुली र पानीको सेवा अवरुद्ध भएको त्यो नगरबाट प्रत्येक दिन ८ हजार मानिसलाई सार्न सकिने उनीहरु बताउँछन्।
पृथकतावादीहरुले नियन्त्रण गरेको क्षेत्रको छेउमा रहेको आभ्डियिभ्कामाथि विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त शुरु भएको युक्रेनको सेनाले बताएको छ।
मंगलबार दुवै पक्षले थुप्रैको मृत्यु भएको बताएका छन् र एकअर्कामाथि हिंसा चर्काएको आरोप लगाएका छन्।
गत महिना एउटा युद्धविराम फेरि लागू गर्ने प्रयास हुँदाहुँदै पनि हिंसा चर्केको हो।
विगत केही दिनमा ७ जना सैनिक र थुप्रैजना विद्रोही मारिएका छन्।
दुवै पक्षमा सर्वसाधारणको ज्यान गएको छ तर मृतकको संख्या स्पष्ट भएको छैन।
मंगलबार आक्रमणका कारण विद्रोही नियन्त्रित दोनेत्स्क क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएपछि कोइलाखानीका २०० कर्मचारी धेरै घण्टासम्म खानीमा फसेका थिए।
जास्याद्कोमा इञ्जिनियरहरुले केही समयपछि जेनेरेटर चलाएर बिजुली बालेर ती कर्मचारीलाई खानीबाट बाहिर ल्याउन थालेका थिए।
आभ्डियिभ्काकी एकजना बासिन्दाले त्यहाँको स्थिति एकदम खराब भएको भन्दै मानिसहरु घरबाहिर निस्किन डराइरहेको बताएका छन् ।