बैंकहरुमा तरलता अभाव नभएको राष्ट्र बैंकको दावी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) को अभाव नभएको प्रष्ट पारेको छ । पछिल्लो समयमा केही बैंक तथा वित्तीय संस्थाले तरलताको अभाव भएको भनिरहेका वेला राष्ट्र बैंकले यस्तो धारणा सार्वजनिक गरेको हो । अधिकांश बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह रोकेको समयमा राष्ट्र बैकले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताएको हो ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले कर्जा प्रवाह गरेकोले अहिलेको अवस्था आएको बताउनुभयो । यद्यपि अहिले तरलताको समस्या नभएको उहाँको भनाई छ । बैंक तथा वित्तीय संस्थाले सम्पत्ति तथा दायित्व (एसेट–लायब्लीटी) राम्रोसँग व्यवस्थापन गर्न नसकेकै कारण अहिलेको अवस्था आएकोले त्यसलाई ब्यवथपन गर्नतर्फ यस्ता संस्था लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
वित्तीय प्रणालीमा देखिएको तरलता अभाव सम्बन्धमा वास्तविक अवस्था पत्ता लगाउन नेपाल बैंकर्स संघले बुधवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । बैंकहरुको समस्या निर्देशित तरलता कायम गर्नेमा नभइ लगानीयोग्य रकममा भएकाले अनुत्पादक क्षेत्रमा लगानी घटाउन उनले आग्रह गरे । हायर पर्चेज र रियलस्टेटजस्ता क्षेत्रमा लगानी घटाउनु सुझाव दिँदै उहाँले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन वैंक तथा वित्तीय संस्थाका प्रमूख सँग आग्रह गर्नुभयो ।
पुँजी वृद्धिको निर्देशन दिँदा त्यसका विकल्पहरुमा राष्ट्र बैंक लचिलो भएकाले पनि अहिलेको अवस्था आएको उहाँले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुँजी वृद्धि प्रयोजनका लागि निश्चित सीमाभन्दा बढी रकम बैंकबाट कर्जा ल्याउन नपाउने व्यवस्था गर्नुपर्ने रहेछ । त्यसमा हामी चुक्यौ ।’
पछिल्लो समयमा अधिकांश बैंकका सञ्चालकहरुले अर्को बैंकबाट ऋण लिएर हकप्रद सेयरमा लगानी गरेको जनाउँदै उहाँले भन्नुभयो, ‘परिणाम यताको बैंकका सञ्चालकले उताबाट र उताको बैंकका सञ्चालकले यता बैंकबाट ऋण ल्याएर पुँजी वृद्धि गरे ।’ राष्ट्र बैंकले नियमित रुपमा बजारको सुक्ष्म अवलोकन गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, ‘अहिलेको समस्या अल्पकालीन भएकोले छिट्टै समाधान हुने उहाँको भनाइ छ ।
बैंकरहरुले भने तरलता अभावले ऋण प्रवाह रोक्नु परेको वताएका छन् । संघका अध्यक्ष अनिलकेशरी शाहले अधिकांश बैंकहरुले कर्जा प्रवाह रोकेको वताउनुभयो । यद्यपि तरलता अवस्थामा सुधारको संकेत देखिएकाले विद्यमान समस्या छिट्टै समाधान हुने उहाँले दावी छ ।