नेपालमा पहिलो पटक ठूलो २२० केभी विद्युत प्रसारण लाइनको उदघाटन

maitrinews

दोलखा(खिम्ती) । नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन भएको छ । विहीवार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गर्नुभएको हो ।
प्रसारण लाईनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताउनुभयो ।
विद्युतीकरण नै नेपालको विकासको प्रमुख आधारशीला भएको उहाँको धारणा छ । “विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थीरताको आधार हो ।” प्रधानमन्त्रीले भन्नुभयो “भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन, त्यस्ता भ्रमको पछि नलाग्नुहोला ।”
विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको संगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गर्नुभयो । नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरकार कडा रुपमा प्रस्तुत हुन्छ ः
समसायिक राजनीतिक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रवादको नाममा देश विखण्डन गर्नेहरुप्रति अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । तराई मधेश र पहाडको भावनालाई अलग थलग पार्ने हर्कतहरुलाई सरकारले अबदेखि छुट नदिने बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्तावमार्फत सरकारले नेपालका सवै भावनाहरुलाई एकीकृत गरी राष्ट्रियतालाई थप मजबुत पार्ने कोशिस गरेको बताउनुभयो ।
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अलग थलग प्रसारण प्रणालीलाई एकीकृत प्रसारण लाईनको रुपमा अघि बढाएको बताउनुभयो । खिम्ती–ढल्केबर प्रसारण लाईनले अन्तरदेशीय बिद्युत आयात–निर्यातको सेतुको रुपमा काम गरेको उहाँको भनाइ छ ।
तीन वर्षमा निर्माण हुने परियोजनामा १७ वर्ष किन लाग्यो भन्ने प्रश्न गर्दै मन्त्री शर्माले अबदेखि जलविद्युत आयोजना तथा प्रसारण लाईन आयोजनाहरुको सर्वे डिजाईनको काम एक वर्षभित्रै सम्पन्न गर्ने गरी नीति बनाउन लागिएको जानकारी दिनुभयो ।