बर्दियामा जंगली हात्तीको आक्रमणमा पाँच जनाको मृत्यु, हात्ती धपाउन समस्या

maitrinews

काठमाडौँ । विगत छ महिनादेखि लगातार मात्तिएको हात्तीले बस्तीमा पसेर धनजनको क्षति पु¥याउन थालेपछि बर्दियामा हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ । छ महिनायता बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएको हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको हो ।
उहाँले भन्नुभयो, “पहिले–पहिले मानिसले आगोले तर्साउँदा, सिट्टी बजाउँदा पनि हात्ती भाग्ने गथ्र्यो तर हिजोआज ट्याक्टरले तर्साउँदा समेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ । अब त डोजरले धपाउँदा समेत नमान्ने भइसक्यो । ”
जङ्गलमा चर्नुको सट्टा बस्तीमा पसेर धान, गहँु लगायत अन्नपात खान पल्केको हात्तीले घरेलु रक्सीसमेत खाने गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले बताउनुभयो । गाउँघरमा भएको ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि रक्सी खाएर मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने गरेको उहाँले बताउनुभयो ।
मध्यवर्ती क्षेत्रका पाताभार, भोला, मनाउ, ठाकुरद्वारा, सूर्य पटुवाको पत्थरबोझी र डाँडागाउँ, शिवपुरको वनखेत, बालाती क्षेत्रको कर्मला र न्याउलापुर, रम्भापुर र वगनाहा क्षेत्रमा हात्तीले दिउँसै आतङ्क मच्चाउन थालेको छ भने ती बस्तीमा स्थानीय वासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको निकुञ्जका प्रमुख थापाले जानकारी दिनुभयो ।
निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका समुदायलाई हात्ती आएको सूचना मोबाइलमार्फत प्रवाह गर्ने प्रविधिको विकास गरे पनि हात्ती भगाउन नसकेर क्षति व्यहोरिनुपरेको छ । पहिलो चरणमा निकुञ्जको मध्यवर्ती क्षेत्र सूर्य पटुवा गाउँ विकास समितिको खाता जैविक मार्गको पत्थरबोझीमा परीक्षणका रूपमा यस प्रविधिलाई सञ्चालनमा ल्याइएको छ ।
यसैबीच, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा हात्तीलाई लठ्याउने औषधि नहुँदा बर्दियाका अन्य भागमा हात्ती मानव बस्तीमा पसेर उपद्रो मच्चाउन थालेको छ । स्थानीय बासिन्दाका अनुसार मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती नियन्त्रणका लागि निकुञ्जका कर्मचारी र नेपाली सेना सम्मिलित टोलीहरू खटिएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र मनाउ, पाताभार क्षेत्रबाट हात्ती भगाइए पनि हाल शिवपुर, नेउलापुर क्षेत्रमा हात्ती नियन्त्रण गर्न नसकिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
बर्दियामा हात्ती आतङ्क निकै बढेको निकुञ्ज प्रशासनले जनाएको छ । कर्मला, शिवपुर, नेउलापुर क्षेत्रमा दैनिक ५ देखि ७ वटासम्म घर हात्तीले भत्काउने गरेको छ । त्यो हात्तीलाई पनि लठ्ठीले औषधि प्रयोग गरेर धपाउने प्रयास भएको छ तर बर्दियामा औषधि र उपकरण सकिएको छ ।