विमानस्थलमा विशिष्ट व्यक्ति आउने—जाने बाटोमा एक्स–रे यन्त्र राख्न निर्देशन

maitrinews

काठमाडौँ । व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र अध्यागमन कार्यालयको आज निरीक्षण गरी विमानस्थलको आकस्मिक ढोका बन्द गर्न तथा विशिष्ट व्यक्ति आउने÷जाने बाटामा एक्स–रे यन्त्र राख्न निर्देशन दिएको छ । 

समितिका सभापति मोहनसिंह राठौरले अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा समितिले आज समग्र अध्ययन गरेको छ, अब उपसमिति बनाएर थप अध्ययनसहित निर्देशन दिनेछ भन्नुभयो । विमानस्थलबाट यसै महिना करिब ३३ किलोग्राम सुन बाहिरिएपछि समग्र विमानस्थलको सुधारका लागि निरीक्षण गरिएको उहाँको भनाइ छ । समितिले तत्काल निरीक्षण गरे पनि दीर्घकालीन नीति, व्यवस्थापन र सुरक्षाको सम्बन्धमा थप अध्ययन पनि गर्ने छ ।