प्रेमीहरुको प्रेम दिवस आज विश्वभर भ्यालेन्टाइन डे–दुःखान्त प्रेमकथाको विजयी दिवस

काठमाडौ। आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस। विश्वभरका मायालु जोडीहरु आज प्रेम दिवस मनाइरहेका छन्। विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि केही वर्षयता प्रेम दिवस विशेष रुपले मनाउन थालिएको छ।

Valentine Day 1

यो दिन प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन्। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने गरेको छ। विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने गरेको भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ।

भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए।

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए। उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए।

सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो।

Valentine Day 2

प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।