बौद्धनाथ चैत्यमा लागेको बाह्रवर्षे मेला सम्पन्न

काठमाडौँ, १७ फागुन । बौद्धनाथ चैत्यमा लागेको बाह्रवर्षे मेलाअन्तर्गत हिजो करिब ५० हजारले मेला भरेका छन् । चैत्य परिसरमा अवस्थित कुण्डमा दर्शन गर्न तथा जल निकाल्नका लागि दर्शनार्थीको साँझसम्म भिड लागेको थियो । बाह्र वर्षमा एक पटक मात्र कुण्डमा दर्शन पाइने हुँदा मेला भर्न काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट भक्तजन सहभागी भएका थिए ।
हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ल्होसारका दिन पारेर कुण्डमा दर्शनका लागि आज बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ला गरिएकामा दर्शनार्थीको भिड बढेपछि साँझ ७ बजेसम्म पनि खुला गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।
ल्होसार मनाउने शेर्पा, गुरुङ र तामाङ समुदायले यस वर्ष वानर वर्षबाट चरा वर्षमा उनीहरुको नयाँ वर्ष प्रवेश गरेको मान्यता राख्छन् । चरा वर्षमा सो कुण्ड खुला गर्ने परम्परा छ । प्रत्येक १२ वर्षमा एक पटक खुल्ने सो कुण्डमा दर्शन गरी घर तथा शरीरमा जल सेचन गरेमा पवित्र भइने र रोगव्याधि नलाग्ने जनविश्वास रहेको बौद्व विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो । लामो समयमा एक पटक खुला हुने हुँदा कुण्डको दर्शन गर्न महत्वपूर्ण मानिएको छ । कुण्ड दर्शन गरेमा मानिसले जानी नजानी गरेको पापबाट समेत मुक्ति पाउने र सत्कर्ममा लाग्न प्रेरणा मिल्ने बताइएको छ ।