काँग्रेस,माओवादी र मधेसी मोर्चाबीच गम्भीर छलफल हुँदै

 
काठमाडौं । सहमतिको प्रयास विफल हुँदै गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाउनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी केन्द्र, कांग्रेस र मोर्चाका शीर्ष नेताहरुबीच आज छलफल हुन लागेको हो । यसअघि सोमबार बेलुका पनि प्रधानमन्त्री दाहालले मधेसी मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गर्नुभएको थियो ।

सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको र सदनमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा रहेको सन्दर्भमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गरेको सचिवालयले जनाएको छ ।

बैठकमा स्थानीय तह पूनर्संरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेसी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्यवनमा नजाने हो भने संघीयता नै उल्टिनसक्ने खतराप्रति मोर्चाका नेताहरुको ध्यानाकर्षण गराएको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ ।

संविधान संशोधन प्रस्तावलाई अन्तिम टुंगोमा लैजान मोर्चाका नेताहरुको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिवद्ध रहेको जानकारी गराएका थिए । मोर्चाका नेताहरुले भने पहिले संविधान संशोधन गरेर गैरदलीय निर्वाचनमा जान सुझाएका थिए ।फागुन १७ गते ।