२०० मेगावाट विद्युत् चोरी र चुहावटबाट सकिँदा वार्षिक ११ अर्ब नोक्सान

 

काठमाडौं । नेपालमा २०० मेगावाट विद्युत चोरी र चुहावटबाट सकिने गरिएको छ । यसबाट नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक साढे ११ अर्व रुपियाँ नोक्सान हुने गरेको छ । अहिले नेपालमा २३ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दाबी गर्नुभएको छ । करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा उहाँले बताउनुभयो ।

एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ। तीन प्रतिशत बिजुली चुहावट जोगाउन सकिएको खण्डमा एक अर्ब ५० करोड रुपैयाँ प्राधिकरणलाई नोक्सान हुनबाट जोगाउन सकिन्छ।

यसअघि २६ प्रतिशत चुहावट हुँदा प्राधिकरणले विद्युत चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको थियो। ऊर्जामन्त्रीको दाबी झैं चुहावट तीन प्रतिशत बिन्दुले घटे पनि प्राधिकरणले अझै ११ अर्ब ५० करोड रुपैयाँ बिजुली चुहावटकै कारण नोक्सान बेहोर्नुपर्ने हुन्छ। एकातिर चुहावटका कारण प्रधिकारणले नोक्सानी बेहोरिरहेको छ भने अर्कोतिर सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।

अत्यधिक बिजुली चुहावट भएर, प्राविधिक गडबडी लगायत कारणले प्राधिकरणको नोक्सानी दिनहुँ बढ्दै गएको छ। एक महिनाअघिको तथ्यांक हेर्ने हो भने प्राधिकरण करिब ३७ अर्ब रुपैयाँ नोक्सानीमा छ। नोक्सानी परिपूर्तिका लागि प्राधिकरणले ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा थप रकम माग गर्दै पत्राचार गरेको छ। यसअघि प्राधिकरणको नोक्सानी बापतको २७ अर्ब रुपैयाँ सरकारले अपलेखन गरेको थियो।

प्राधिकरणका अनुसार, हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २३ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ।

केही दिन पहिला प्राधिकरणले प्रहरीको सहयोगमा चुहावटमा सघाउने आफ्नै कमचारीलाई नियन्त्रणमा लिएको थियो। प्राधिकरणकै कर्मचारीको मिलोमतोमा ४–५ प्रतिशत बिजुली चोरी हुने गरेको विज्ञको भनाइ छ।
प्राधिकरणका अनुसार, करिब दुई सय ४० मेगावाट बिजुली चुहिएर सकिने गरेकोमा चुहावट नियन्त्रण गर्ने अभियान चलाएपछि कमी आएको छ। अहिले पनि दुई सय मेगावाटभन्दा बढी चुहावट हुने गरेको छ।
फागुन १७ गते ।