ओली निवास पुगेरै गृहमन्त्री विमलेन्द्र निधिले माफी माग्नुभो,ओलीले सोध्नुभो, तपाईँ काँग्रेसमै हुनुहुन्छ ?
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूले ‘एमालेलाई लखेट्ने निर्देशन’ नदिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माफी माग्नुभएको छ । ओली निवास बालकोट पुगेका गृहमन्त्री निधिले ओलीसँग माफी माग्नुभएको हो ।
नेपाली कांग्रेस पार्टीमै रहे पनि सरकारमा बसेर मधेसी मोर्चाको भूमिका निभाइरहेका निधि लाहनमा नेपाल महिला संघको कार्यक्रममा आफूले गरेको भाषणबारे स्पष्ट पार्न ओली निवास पुग्नुभएको थियो । निधिले आफूले लाहानमा फागुन १५ गते भएको महिला संघको कार्यक्रममा एमालेलाई लखेट्नु भन्ने शब्द प्रयोग नगरेको दावी गर्नुभयो ।
ओलीले भने निधिलाई आफूले कांग्रेसमै रहेको ठानेकाले एमालेलाई लखेट्ने निर्देशन दिएको सुन्दा आश्चर्य लागेको टिप्पणी गर्नुभएको थियो । ‘त्यही त, तपाई कांग्रेसमै हुनुहुन्छ जस्तो लाग्या थियो, एमालेलाई लखेट्नु भन्नु नपर्ने हो’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कहिलेकाहीँका कुरा सुन्दा त कांग्रेस होइन कि जस्तो पनि लाग्छ, कांग्रेस छोड्या त छैन नि है ?’
१५ गतेको महिला संघको कार्यक्रममा निधिले एमाले विरुद्ध भण्डाफोर गर्न र गाउँमा एमाले कार्यक्रम गर्न गए राष्ट्रघाती भन्दै खेद्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । समारोहमा कांग्रेस नेता महेन्द्र यादवले त लाठो लिएर लखेट्न जस्ता उत्तेजक भाषण गर्नुभएको थियो ।
तर, ओलीलाई भेट्न बालकोट पुगेका निधिले भने एमालेको मेची महाकाली अभियानको सुरक्षा ब्यवस्थाका लागि निर्देशन दिएको वताउँदै अभियान सफलतको कामनासमेत गर्नुभयो ।
फागुन २० गते ।